भारतविरुद्ध रुटको दोहोरो शतक



लन्डन, (एजेन्सी) ।

जोए रूटले दोहोरो शतक प्रहार गरेपछि इंग्ल्यान्डले चेन्नईमा भएको पहिलो टेस्टमा बलियो स्कोर बनाएको छ ।

भारतविरुद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल समाप्तिसम्म इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ५५ रन जोडेको हो । टिमका कप्तान रूटले दोहोरो शतकसमेत प्रहार गरे । पहिलो दिनमा १ सय २८ रन बनाएका उनले शनिबार दोहोरो शतक पूरा गरेका हुन् । उनले २ सय १८ रनको योगदान दिएका हुन् । यसैगरी, इंग्ल्यान्डका लागि बेन स्टोक्सले ८२ रन जोडेका थिए ।

रूटलाई भारतीय स्पिनर शाहबाज नदीमले एलबीडब्ल्यूको धरापमा पारेका थिए । तर, त्यति बेलासम्म रूटले इतिहास रचिसकेका थिए । उनी भारतमा दोहोरो शतक प्रहार गर्ने २०१० पछिका पहिलो ओभरसिजका ब्याटसम्यान हुन् । २०१० मा न्युजिल्यान्डका ब्याटसम्यान ब्रेन्डन म्याकुलुमले भारतको भूमिमा दोहोरो शतक प्रहार गरेका थिए । हैदराबादमा भएको टेस्टमा म्याककुलुमले २ सय २५ रन जोडेका थिए ।

त्यस्तै, रूटको यो करियरको पाँचौं दोहोरो टेस्ट शतकसमेत थियो । इंग्ल्यान्डको तर्फबाट वाली हेमन्डले उनले भन्दा बढी दोहोरो शतक प्रहार गरेका छन् । रूटले ३ टेस्ट खेलबाट ६ सय ४४ रन जोडिसकेका छन् । उनले यसअघि श्रीलंकाविरुद्धको २ टेस्टमा ४ सय २६ रन बनाएका थिए । उनले श्रीलंकामा एक दोहोरो शतक र एक शतक लगाएका थिए । यस्तै, न्युजिल्यान्डका केन विलियमसनले पनि पछिल्ला ५ इनिङमा ६ सय ४४ रन जोडेका थिए ।

शुक्रबार पहिलो दिन उनले डम सिब्लीसँग २ सय रनको साझेदारी गरेका थिए । दोस्रो दिन २ सय ६३ रनबाट शुरू गरेको इंग्ल्यान्डका लागि रूटले स्टोक्ससँग १ सय २४ रनको साझेदारी गरे । रविचन्द्रन अश्विनको बललाई छक्का प्रहार गर्दै उनले दोहोरो शतक पूरा गरेका थिए । उनले ३ सय ७७ बलको सामना गर्दै १९ चौका र २ छक्का प्रहार गरेका थिए । भारतका बलरमा इशान्त शर्मा, जसप्रीत बुमराह, अश्विन र नदीमले २/२ विकेट लिएका छन् । इशान्त करियरमा ३ सय विकेट लिन एक विकेटले पछि छन् ।

प्रतिक्रिया दिनुहोस्