पहिलोपटक लापु पुग्यो यातायात



मुगु, (नेस) ।

हिमाली जिल्ला मुगुको छायानाथ रारा नगरपालिका–१३ को दलित बस्ती लापु गाउँमा पहिलोपटक सडकसंँगै यातायात पुगेको छ । पूर्वाधार विकास कार्यालय मुगुमार्फत निर्माण भएको जडीबुटीमार्गबाट सवारीसाधन लापु पुगेको हो ।

गाउँमा पहिलोपटक गाडी गुडेको देखेपछि स्थानीय खुसी छन् । ‘सदरमुकाम गमगढी बजार र रोजगारीका लागि तेस्रो मुलुक जाँदा मात्र गाडी चढ्न पाएको थिएँ, अहिले आगनमैै गाडी आइपुग्दा निकै खुसी लागेको छ ।’ –छायानाथ रारा नगरपालिका–१३ की ज्ञानी कामी भन्नुहुन्छ ।
गाउँबाट सदरमुकाम गमगढी पुग्न पैदल यात्राबाट ३ देखि ४ घण्टा लाग्थ्यो । गाडी गुड्न थालेपछि यो बाटो एक घण्टामा छोटिएको छ ।

लापु गाउँका अर्का स्थानीय जोरसिंह कामी सडक र सवारीसँगै गाउँको मुहार फेरिनेमा आशावादी हुँदै भन्नुहुन्छ– ‘अब यात्रा मात्र होइन हाम्रा उत्पादन पनि बिक्री हुने दिन आए ।’

‘रुगा छाइल जडीबुटीमार्गअन्तर्गत बहुवर्षीय आयोजनाअन्तर्गत रुगा गाउँदेखि लापु गाउँसम्मको सडक गत आर्थिक वर्ष र चालू आर्थिक वर्ष गरी ३ करोड रुपियाँ बढी बजेटबाट ६ किलोमिटर सडक निर्माण भएको छ’, पूर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख योगेन्द्र धराल भन्नुहुन्छ– ‘थप निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ ।’

राष्ट्रिय सडक सञ्जालबाहेक अन्य गाउँबस्तीसम्म सडक सञ्जाल जोड्नका लागि मुगुको धेरै स्थानमा सडक निर्माणकार्य धमाधम भइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्