भ्रष्टाचार र अपराधको ढाकछोपका लागि संसद् विघटन



मिला दरै, तनहुँ । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचार र अपराधको ढाकछोपका लागि संसद् विघटन गरिएको आरोप लगाउनुभएको छ । नेकपा ओली सरकारमा ठूला भ्रष्टाचारका गतिविधि मौलाएकाले यस्ता गतिविधि लुकाउन संवैधानिक निकायमा बढी हमला गरिएको पौडेलको आरोप छ । नेपाली कांग्रेसका शुभेच्छुक संघसंस्थाद्वारा शनिबार दमौलीमा आयोजित ओली सरकारको असंवैधानिक कदम विरुद्धको विरोध सभामा उहाँले सो कुरा बताउनुभएको हो ।

‘भ्रष्टाचार अपराध हो, अपराध गर्नेलाई लुकाउन र ढाक्नका लागि अनुसन्धान आयोगलाई च्याप्ने कार्य हुँदै आएको छ’ –उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी ओलीले स्वेच्छाचारी रुपबाट काम गर्नका लागि आयोगलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । ‘संविधानमा प्रहार गरिएको छ, संविधानमाथि गरिएको प्रहारले देशै फाल्ने कार्यको सुरुवात भएको छ, ओलीले गरेको असंवैधानिक निर्णयको ढाकछोप गर्नका लागि संसद् विघटन गर्नुभएको हो’ –नेता पौडेलले भन्नुभयो र्।

संसद् विघटनले अस्थिरता र विद्रोहको बाटो समातेकोले त्यसको मौकामा अन्तराष्ट्रिय शक्ति केन्द्र सलबलाउन थालेको पौडेलको भनाइ थियो । ‘आन्तरिक झगडामा देश फसेपछि विदेशी हस्तक्षेप बढ्छ, संसद् विघटनले अस्थितरता निम्त्याएको छ, एकतालाई कमजोर बनाएको छ’ –पौडेलले भन्नुभयो । संसदको पुनस्थापना भएपछि मात्रै राष्ट्रले निकासा पाउने पौडेलले बताउनुभयो ।

७० वर्ष सङ्घर्ष गरेर नेपालीले संविधान ल्याएको संविधानको भावाना विपरित संसद विघटनले लोकतन्त्र नै अप्ठ्रोमा परेको उहाँले बताउनुभयो । ‘लोकतन्त्र भन्दा ठुलो अरु केही हुनै सक्दैन संसद बन्नको लागि चुनाव जाने हैन, लोकतन्त्रलाई नै अप्ठ्यारो पारेकोले पुर्नस्थापना हुनुपर्छ’ –पौडेले भन्नुभयो । सडकबाट आन्दोलन गरेर संसद पुर्नस्थापना हुनु भन्दा अदालतको आदेशबाट पुर्नस्थापना हुनेमा आफू विश्वस्त रहेको पौडेलले बताउनुभयो ।

राजनीतिक अस्थिरताले गर्दा देशमा विकासका योजनाहरु अलपत्र अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘अस्थिरताले देशको आर्थिक समृद्धिमा आघात पुर्‍याएको छ, त्यसैले असंवैधानिक निर्णयल संवैधानिक बनाउन हाम्रो आन्दोलन हो, सबैको मनतव्य र गन्तव्य एउटै हुनुपर्छ,’ उहाँले भन्नुभयो । संसद विघटन गरेर यसलाई बचाउन खोजेपनि पार नलाग्ने देखिएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले शुक्रवार काठमाण्डौमा गरेको सम्बोधनलाई देखेर प्रधानमन्त्रीको ओठ तालु सकेको देखिएको पौडेलले बताउनुभयो । ‘प्रधानमन्त्री र उहाँका वकिलको पनि ओठ तालु सुकेको छ,’ उहाँले भन्नुभयो, ‘उहाँले असंवैधानिक काम गर्नुभयो यस कदमलाई संवैधानिक सिद्ध गर्न ज्यान फालेर लागेपनि नहुने भएपछि उहाँ चिन्तित हुनुभएको छ ।’

सत्तरी वर्षको संघर्ष मार्फत संविधान बनाएर देशले विकास र निकासको बाटो लियो भन्ने जनतामा आशा थियो त्यो भरोषा प्रधानमन्त्रीले चकनाचुर पारेको पौडेलले आरोप लगाउनुभयो । ‘भण्डै दुई तिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कारणले संसद विघटन गर्नु दुःखद छ,’ पौडेलले भन्नुभयो ।

तनहुँका राष्ट्रिय गौरवका योजना पार्न नसकेको र काँग्रेसले जस्तो बनाएको थियो त्यस्तै अवस्थामा रहेको उहाँले बताउनुभयो । ‘‘बुद्धसिंह, भानु, ऋषिङपथ, कहाँ शिवपुर जताततै सडक अलपत्र अवस्थामै छ’’ पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्