चिकित्सा क्षेत्रको माया छ, गायनमा मज्जा छ : डा. रणजित कुमार झा



डा. रणजित कुमार झाको परिचय दुईतिर फैलिएको छ। एकातिर उनी एक कुशल फिजिसियन तथा मधुमेह र मुटु विज्ञ हुन् भने अर्कातिर प्रतिभाशाली गायक। बंगलादेशबाट एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (आईओएम), महाराजगञ्जबाट एमडी (इन्टरनल मेडेसिन), भारतको दिल्लीस्थित अपोलो अस्पतालबाट मधुमेह र क्लिनीकल कार्डियोलजीमा फेलोसिप गरेका उनी वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्। त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जवाट चिकित्सकको जागिर शुरुवात गरी प्राथमिक स्वास्थ्य केन्द्र, कल्याणपुर, सप्तरीवाट सरकारी जागिर खाएका झाले एमडी अध्ययनपश्चात वीर अस्पतालमा ५ वर्ष सेवा गरी ४ वर्षदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा कार्यरत छन्। हाल गजेन्द्र नारायण सिंह अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट पदमा कार्यरत उनले हालसम्म ३० भन्दा वढि नेपाली र मैथिली गीत रेकर्ड गराएका छन्। वसि वसि, सरी माई वावा, हाम्रो देश, रातकी रानी, जागु जागुजस्ता उनका गीत चर्चित छन्। हाल राजविराजमा बसेर गजेन्द्र नारायण सिंह अस्पतालमार्फत विरामीको सेवा गरिरहेका उनै डा. झासँग नेपाल समाचारपत्रका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत छः

हाल के गर्दै हुनुहुन्छ?

विशेष केही छैन। अस्पतालमै व्यस्त छु। विरामीको सेवा गरिरहेको छु। पछिल्लो केही समयेखि अस्पतालकै कामले व्यस्त बनाईरहेको छ।

तपाई गायक की डाक्टर?

म पहिले डक्टर अनि मात्र गायक हुँ। चिकित्सा पेशामा बढी समय दिने भएकाले आफुलाई पहिले डक्टर र पछिमात्र गायक भन्न चाहन्छु। श्रम लगानी गायन क्षेत्रभन्दा धेरै नै वढी चिकित्सा क्षेत्रमा रहेकोले यस क्षेत्रप्रतिको माया वढी छ। अनि आय आर्जनको मुख्य श्रोत यहि पेशा हो। त्यसैले म पहिले डक्टर हुँ। त्यसपछि मात्र गायक हुँ।

गायक भएर सांगितीक आनन्द दिन मज्जा कि डक्टर भएर विरामीलाई ठिक पार्न?

खासमा मज्जा गीत गाउन जति केहिमा पनि लाग्दैन। आफुले गाएको गीतमा जब दर्शक सोता रमाउनु हुन्छ, मेरो गीतलाई मन पराउनु हुन्छ। स्टेजमा गीत गाउँदा ताली र हुटिङले साथ दिनुहुन्छ, त्यतिखेरजस्तो मज्जा कहिल्यै केहीमा आउँदैन। तर आतिएर आएका विरामी ठीक भएर जाँदाको सन्तुष्टिले मेरो चिकित्सा पेशाप्रतिको माया वढाउँदै लगेको छ।

आम्दानीको हिसाबले पनि त डक्टर पेशा नै राम्रो लाग्छ होला नि?

मैले चिकित्सा पेशालाई कमाईभन्दा पनि सेवा भावले हेरेको छु। त्यसैले पनि आर्थिक पाटोलाई ध्यान दिएको छैन। तर पनि सांगितीक क्षेत्रको तुलनामा यसबाट आम्दानी हुन्छ। अन्य पेशाभन्दा एकदमै धेरै त होइन, अलि बढी आम्दानी चाहिँ हुन्छ। यो पेशा अपनाउना साथ धेरै कमाई हुने होइन, जसले जति मेहनत गर्न सक्यो त्यति नै कमाई हुने सम्भावना हुन्छ। खट्न सक्नुपर्छ, कमाई हुन्छ।

अरु डक्टर बाहिरबाट काठमाडौं आउन चाहन्छन्, तर तपाईं त विर अस्पतालको जागिर छोडेर सप्तरीतिर लाग्नु भयो? घर पाइक पार्नु भएको हो कि?

हेर्नुस प्रत्येक नागरिकको केहि सामाजिक दायित्व हुन्छ। आफू जन्मेको हुर्केको समाजभित्र आफूले सिकेको शिप र गुणले योगदान गर्दा अत्यन्त धेरै सन्तुष्टि मिल्दो रहेछ। त्यसैले अहिले यहाँ आएर आफु जन्मे हुर्केको ठाउँका विरामीको सेवा गरिरहेको छु। आप्mनै जन्मथलोमा आएर सेवा गर्न पाउनुको आनन्द छुट्टै छ।

डक्टर भएर विरामीको सेवा गर्न काठमाडौंमा ठिक थियो कि राजविराजमा ठिक लागिरहेको छ?

अवश्य पनि एउटा डक्टरको लागि विरामीको उपचार गर्न काठमाडौं नै राम्रो ठाउँ हो। काठमाडौभित्र विभिन्न सुविधासहितको उपचार गर्न पाइन्छ। आधुनिक र अत्याधुनिक प्रविधिले स्वास्थ्य सेवालाई सुदृढ गर्न सहयोग गरेको छ। यहाँचाहिँ अभावको विचमा रहेर काम गर्नुपर्छ। तर विस्तारै अव यहाँ पनि धेरै परिवर्तन आएको छ। विरामीले क्वालिटि सर्भिस पाउन थालेका छन्। विरामीलाई जतिसक्दो क्वालिटी सर्भिस दिनेतर्फ प्रयसा गरिरहेको छु।

मेडिकल सुपरिन्टेन्डेन्टका रुपमा गजेन्द्र नारायण सिंह अस्पताललाई कसरी अगाडि बढाईरहनु भएको छ?

निकै चुनौतीहरुको वीच मैले मेसु पदको जिम्मेवारी पाएँ। एकातिर कोरोनाको कहर अर्कोतिर अस्तव्यस्त अस्पताल। फेरि पहिलो पटक प्रमुख भएर काम गर्ने अवसर। तर आँटनु पर्दो रहेछ, मार्गप्रशस्त हुँदै जाँदो रहेछ।

कोभिडको मध्य समयमा अस्पतालको नेतृत्व गर्दा कस्तो अनुभव भयो?

यो अत्यन्तै चुनौतिपूर्ण थियो। चुनौतिसँगै अवसर पनि थियो। शुरुवातमा नेपालकै सवैभन्दा ठूलो १ सय ७८ वेडको कोभिड अस्पताल खोलेर उपचार शुरु गरियो। लगभग हजार जति विरामी निको भएर गए। २ जना कोभिड विरामीलाई चाहिँ बचाउन सकिएन। एकातिर अस्पताल प्रमुखको भुमिका, अर्को यस्तो रोगको विशेषज्ञ पनि आफैँ भएकोले दिनरात के हो चिन्नै छोडेँ। जीवनले यति व्यस्त वनाउला भनि कहिले पनि सोचेको थिईनं। तर सवैको साथ र सहयोगले अहिले सम्मको स्थितीमा आईपुगियो।

अस्पतालमा सेवा सुविधका हिसाबले राजधानीको तुलनामा बाहिरका अस्पतालमा के कस्ता कमजोरी र अभाव महशुष गर्नुभयो?

काठाडौंको तुलनामा यहाँ सेवा सुविधाको कमी थियो। कोरोनावाट अलि फूर्सत मिल्ने वित्तिकै अस्पतालको वेथिति सुधार्न तिर लागेँ। यहाँ विभिन्न चुहावट रोक्नु, कर्मचारीलाई कामप्रति उत्तरदायित्व वनाउनु सवभन्दा ठूलो चुनौती थियो। साथै विभिन्न सुविधाहरु थप्नु पर्ने थियो। अहिले गजेन्द्र नारायण सिंह अस्पतालमा सिटि स्क्यान सेवा शुरु भएको छ। अल्ट्रासाउण्ड र इको सुविधा पनि थपेको छु। फागुनदेखि आईसियू र एचडियु पनि सञ्चालनमा ल्याउँदैछु। ३ सय वेडको नयाँ अस्पताल वन्दैछ। यस्ता अनेक कार्यलाई अगाडि बढाएको छु। जसले विरामीले पाउने सेवा उत्कृष्टता तिर लम्किँदै गईरहेको छ।

राजविराज सरुवा भएर गएपछि तपाईंको गायन यात्रा ठप्प हुन पुग्यो नि?

राजविराज आए पछि मेरो गायन यात्रा ठप्प त भएको छैन। तर समयको अभावले गर्दा त्यती क्रियाशिल हुन पाएको छैन। यस बीचमा ४ वटा गीत रेकर्ड गराएको छु भने १० वटा गीत स्टुडियो भित्र छ, भोकल हाल्न मात्र वाँकी छ। समय मिलाएर भोकल कम्प्लिीट गर्छु।

लकडाउन र कोरोनाले तपाईंको गायन करियरलाई असर पर्‍यो?

असर त पर्‍यो नि। तर पनि जति वेला फुर्सत पाउँछु, गिटार समाएर गीत गाँउन थालिहाल्छु। शव्द कोर्ने र कम्पोज गर्ने काम चाहिँ पहिलेको तुलनामा घटेको छ।

आफ्नो बाहेक गायकका रुपमा कसको रचना र संगीतमा गीत गाउने सपना छ?

मलाई दिनेश अधिकारीको शव्द अत्यन्त मन पर्छ। त्यस्तै न्यहू वज्राचार्य, सुरेश अधिकारी, र महेश खड्काको संगीतमा गाउन पाए हुन्थ्यो जस्तो लाग्छ।

अबका दिनमा गायन र चिकित्सा क्षेत्रमा कुनलाई बढी प्राथमिकता दिनुहुन्छ?

चिकित्सा क्षेत्र मेरो पेशा र मानव सेवा गर्ने पाटो हो। यसर्थ यो क्षेत्र सधैभरि प्राथमिकतामा रहने छ। गायन क्षेत्र मेरो जुनुन हो, जहाँ म आफैँ रमाएको पाउँछु। यस अर्थमा म आफूलाई खुशी राख्न यो क्षेत्रलाई सधै अंगिकार गरि लानेछु।

अन्तमा केही भन्न चाहनु हुन्छ?

अवश्य पनि। काम गर्दै जाँदा कामको मूल्याकंन हुनु आवश्यक छ। यसपाली नेपाल सरकारले प्रवल जनसेवा पुरस्कार दिने निर्णय गरेकोमा खुशी लागेको छ। कोरोनाले हामी सवैलाई हाम्रो जीवनशैली परिवर्तन गर्न सिकाएको छ। यो आवश्यक पनि छ, सुरक्षित जीवन शैली अपनाएर आफू तथा समाज दुवैलाई सुरक्षित राखौँ ।

प्रतिक्रिया दिनुहोस्