मुटु बचाउन जीवनशैली परिवर्तनमा जोड



ललितपुर ।

उच्चरक्तचाप र मधुमेहले गर्दा मुटुरोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् ।शनिबार बुबहालमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा मुटुरोगीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । ललितपुर महानगरपालिका–१६ वडाले अरनिको समाजसँग मिलेर सो शिविर आयोजना गरेको हो । गत साता नशा तथा हाडजोर्नी परीक्षण गरिएकोमा यसपटक मुटुको परीक्षण गरिएको थियो ।

‘जीवनशैलीलाई परिर्वतन गरी आहार, विहारको नियन्त्रण र व्यायाम जोड्न सकेन भने मुटुरोगीहरुको संख्या झन् बढ्दै जाने छ । ’ –स्वास्थ्य परीक्षणपछि डा. दीपक मिश्रले भन्नुभयो । शिविरमा मधुमेह र उच्चरक्त चापले गर्दा मुटु रोगी भएका बिरामी र भर्खर भर्खर औषधी सेवन गर्न थालेका गरी ८३ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।एलडीएल कोलेस्टोरले गर्दा मुटुमा समस्या भएका बिरामीहरुले पनि स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य सम्बन्धी चेतना जगाउन सकेन भने मुटुरोगीहरुको संख्या बढ्दै जाने बताउँदै डा. मिश्र, डा. कृृष्णगोपाल महर्जन, डा. उर्मिला शाक्यले महानगरपालिका र वडाले चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने खाँचो आंैल्याउनुभयो । शिविरमा औषधी पनि निःशुल्क वितरण गरिएको थियो भने ईसीजी पनि गरिएको थियो ।

सो अवसरमा अरनिको समाजका महासचिव डा. सुशील प्रजापतिले शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरु थप उपचारका लागि ललितपुर सामुदायिक हृदयरोग सेवा केन्द्र मणिडोलमा आएमा २० प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैैरुपमा शिविर आयोजना गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

आउँदो शनिबार बालिफल (अशोक हलमा) बाल छाला तथा आँखा रोगसम्बन्धी शिविर, फागुन ८ गते नागबहालमा स्त्रीरोगसम्बन्धी शिविर, फागुन १५ गते दौबहालमा पेट तथा कलेजोसम्बन्धी शिविर, फागुन २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरलसम्बन्धी शिविर सञ्चालन हुनेछ । समाजका अनुसार स्त्रीरोगसम्बन्धी जाँचमा ४५ वर्षभन्दा माथिका महिलाहरुको पायस्प्समेर निःशुल्क परीक्षण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्