प्रधानमन्त्री ओलीले उद्घाटन गरेको मेची पुल अझै खुलेन



न्युज अफ नेपाल, भद्रपुर ।

कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन बन्द राखिएको भद्रपुर नाका नखुलेपछि भद्रपुर लगायत दक्षिणी झापावासी निराश बनेका छन् । बन्द राखिएको भद्रपुर नाका अझै खुलाउने केही पहल गरिएको छैन । सरकारले काँकडभिट्टापछि खजुरगाछी नाका खुलाउने माघ ११ गते निर्णय गरेपछि यहाँका बासिन्दामा थप अन्यौलता छाएको छ ।

घरायसी सामान तथा औषधि खरिद वा आफन्त भेट्न भारत जानु परेमा घुमेर काँकडभिट्टा वा लुकेर चोर बाटोबाट भारत जानु पर्ने बाध्यताले थप सास्ती झेल्नु परेको स्थानीयवासी बताउँछन् । भद्रपुरको मेची पुलबाहेक सबै नाकाहरूबाट सहजै रुपमा दुवै देशका नागरिक आवतजावत गरिरहेको उहाँहरुको भनाइ छ । भद्रपुर नाका पनि खुलाउनु पर्छ भनी मेची पुलमा यसअघि पटक पटक स्थानीयले धर्ना दिएका थिए । तर, सरकारले भद्रपुर नाका पूर्ण रुपमा खुलाउने अहिलेसम्म कुनै निर्णय गरेको छैन । भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको जिल्लामा दुइटा मुख्य नाका काँकडभिट्टा र भद्रपुरमा दुवै नाकामा मूल भन्सार रहेको छ ।

करोडौँ लागतमा निर्माण गरिएको मेची पुललाई सदुपयोग गर्न नपाउँदा स्थानीयलाई समस्या भइरहेको युवा उद्योगी विनय गोयलले बताउँनुभयो । भारत जानु परेमा यहाँबाट घुमेर काँकडभिट्टा नाका जानु पर्ने उहाँको भनाइ छ । भद्रपुरको मेची पुलबाट मान्छे हिड्न बन्देज लगाइएको मात्र हो , खोलाबाट सहज रुपमा मान्छे ओहोरदोहोर गरीरहेको उहाँले बताउँनुभयो । कोरोना नियन्त्रणको नाममा सरकारले भद्रपुर नाका बन्द गरेर जनतालाई थप सास्ती दिइरहेको उहाँले जनाउँनुभयो । सरकारले भद्रपुरलाई जहिले अपेक्षित गर्दाको परिणाम भएको नेपाल चिया उत्पादक सङ्घका सल्लाहकार जेपी शर्माले बताउँनुभयो । जिल्लामा दुई वटा मुख्य नाकामा मूल भन्सार भएपनि काँकडभिट्टा नाका खोलेर भद्रपुर बन्द गर्नु सरकारको निर्णय गलत भएको उहाँले बताउँनुभयो । भद्रपुर नाका खुलाउने विषयमा यहाँका जनप्रतिनिधि र सांसदले चासो नदेखाएकामो आश्चर्य लागेको उहाँको बुझाइ छ ।

झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले भद्रपुरको मेची पुलबाहेक सबै नाका र ठाउँहरू खुला रहेको बताउँनुभयो । दैनिक सयौँ मानिस आवतजावत गरिरहेका छन्, तर भद्रपुर नाका बन्द छ, यो कस्तो विडम्बना हो उहाँले भन्नुभयो ।’ त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले मुख्य भन्सार रहेको भद्रपुरलाई बन्द राख्ने निर्णय सही नभएको बताउँनुभयो । भन्सारमा सरसामान आउन दिने तर स्थानीयलाई घरायसी सामान खरिद, आफन्त भेटघाट गर्न जान नदिने निर्णय सरकारले तत्काल सच्याउनु पर्ने उहाँको भनाई छ । मूल भन्सार भएको नाकालाई मूल नाकाकै रुपमा सरकारले दर्जा दिनु पर्ने उहाँको धारणा छ ।

जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालयहरू छ । तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ । चैत ११ गते बन्द राखिएको जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन । काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान पाउने सरकारले निर्णय गरेको छ ।
सरकारले मुख्य नाकालाई प्राथमिकतामा राखेर नाका खुलाउनु पर्नेमा गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा थप १६ वटा नाका खुलाउने भनी माघ ११ गते निर्णय गरेको थियो ।

थप खुलाउने नाकाहरूमा जिल्लाको दोस्रो मुख्य नाका भद्रपुर परेन । त्यसमा झापाको खजुरगाछी नाका राखियो । विहारको फत्तेपुर नाकासँग जोडिएको गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीमा मेची भन्सार कार्यालय अन्तरगत आठ मौजा छोटी भन्सार रहेको छ ।
माई पूर्व र माई पश्चिम झापावासीलाई लक्षित सरकारले दुइटा नाका खुलाएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउँनुभयो । ती दुई नाकाबाट घरायसी सामान किनमेल, नातागोता भेटघाट, खेतीपाती गर्न जान पाइन्छ, अरू नाकाबाट जान नपाइने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्