बुद्ध विहार पुनर्निर्माणका लागि ७० लाख अनुदान



नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपियाँ अनुदान दिएको छ ।गत आर्थिक वर्षमा १ करोड रुपियाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो । शनिबार राजधानीको भृकुटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहका बीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले यसअघि सो रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो ।

सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँलगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्यअनुरुप अनुदान उपलब्ध गराएको बताउनुभयो । ‘महानगरपालिकाले यहाँका मानिसहरुको संवेदनशीलतासँग जोडिएको र नेपाललाई चिनाउने संस्कृति, सम्पदा र विहार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका छौं। हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्यअनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं।’ –मेयर शाक्यले भन्नुभयो ।

प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाकै सहयोगले हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयम्भूस्थित आनन्द भुवन विहार पुनर्निर्माण भइरहेको जनाउँदै उहाँले स्वयम्भूस्थित ऐतिहासिक आनन्दकुटी विहारको पुनर्निर्माणमा १ करोड रुपियाँ उपलब्ध गराउने बताउनुभयो ।सो अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विहार पुनर्निर्माणमा महानगरपालिकाले सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताउँदै यसले महानगरपालिकाप्रति अपनत्व र स्थानीय तहप्रति भरोसा वृद्धि हुने धारणा राख्नुभयो । संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयरसंग सहकार्य गरेर नै आफू अघि बढिरहेको पनि उपप्रमुख खड्गीको भनाइ रहेको छ ।

समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारण दाताहरुको सहयोगमा भइरहेको पुनर्निर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपियाँले पुनर्निर्माणमा तीव्रता आएको बताउनुभयो । महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनर्निर्माण गर्ने उत्साह र विश्वास पैदा गरेको पनि भिक्षु कौण्डन्यको भनाइ रहेको छ ।समितिका सहसचिव सुनील महर्जनले संस्कृति, सम्पदाप्रतिको संवदेनशीलताको दृष्टिले हेर्दा महानगरपालिकाले यस क्षेत्रमा गर्दै आएको अनुदान सहयोग, लिइएका नीति र योजनाहरु उदाहरणीय रहेको धारणा राख्नुभयो । महानगरपालिकाले सरोकारवालाहरुलाई उत्साहित तुल्याउँदै उच्च मनोबलका साथ संस्कृति र सम्पदा क्षेत्रमा गरेका कार्य अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बनेको पनि सहसचिव महर्जनको भनाइ रहेको छ ।

सो अवसरमा इन्जिनियरद्वय सजीव शाक्य र मञ्जुश्री स्थापितले विहार पुनर्निर्माणको भौतिक प्रगतिबारे आफ्नो प्रगति पेस गर्नुभएको थियो ।सो विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपियाँ लागतमा पुनर्निर्माण भइरहेको छ । विभिन्न दाताहरुकोसहयोगमा दुई वर्षअघि सो विहारको पुनर्निर्माण कार्य शुरु भएको थियो । पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसँगैको अर्को भवनको पुनर्निर्माण गरिनेछ । सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र विभिन्न महाशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्