बुद्ध विहार पुनर्निर्माणका लागि ७० लाख अनुदान



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपियाँ अनुदान दिएको छ ।
गत आर्थिक वर्षमा १ करोड रुपियाँ अनुदान दिएको महानगरपालिकाले चालू आर्थिक वर्षमा सो रकम प्रदान गरेको हो ।

शनिबार राजधानीको भृकुटीमण्डपस्थित विहारको सभाहलमा आयोजित एक समारोहका बीच महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविर र कोषाध्यक्ष सुरेश महर्जनलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाको गत असारमा सम्पन्न नगरसभाले यसअघि सो रकम उपलब्ध गराउने प्रस्ताव पारित गरेको थियो ।सो अवसरमा महानगरपालिकाका प्रमुख शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छेँलगायत सबै सम्पदा आफ्नै कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्यअनुरुप अनुदान उपलब्ध गराएको बताउनुभयो ।

‘महानगरपालिकाले यहाँका मानिसहरुको संवेदनशीलतासँग जोडिएको र नेपाललाई चिनाउने संस्कृति, सम्पदा र विहार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका छौं। हाल भइरहेको बौद्ध विहार, पाटी पौवा र सम्पदाको पुनर्निर्माण सोही लक्ष्यअनुरुप भएका कार्यहरु हुन् । यसमा सबै सरोकारवालाको सहयोगले महत्वपूर्ण उपलब्ध हासिल गरेका छौं।’ –मेयर शाक्यले भन्नुभयो ।
प्रमुख शाक्यले संस्कृति, सम्पदा संरक्षणमा रकम अभाव भयो भनेर चिन्ता नलिन आग्रह गर्दै योजना लिएर आएमा महानगरपालिकाले सबैलाई यथोचित सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरपालिकाकै सहयोगले हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र, स्वयम्भूस्थित आनन्द भुवन विहार पुनर्निर्माण भइरहेको जनाउँदै उहाँले स्वयम्भूस्थित ऐतिहासिक आनन्दकुटी विहारको पुनर्निर्माणमा १ करोड रुपियाँ उपलब्ध गराउने बताउनुभयो ।

सो अवसरमा महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले विहार पुनर्निर्माणमा महानगरपालिकाले सहयोग गर्न पाउँदा खुसी महसुस भएको बताउँदै यसले महानगरपालिकाप्रति अपनत्व र स्थानीय तहप्रति भरोसा वृद्धि हुने धारणा राख्नुभयो । संस्कृति सम्पदा र विकास निर्माणको क्षेत्रमा काम गर्ने विषयमा मेयरसंग सहकार्य गरेर नै आफू अघि बढिरहेको पनि उपप्रमुख खड्गीको भनाइ रहेको छ ।
समितिका अध्यक्ष भिक्षु कौण्डन्य महास्थविरले सर्वसाधारण दाताहरुको सहयोगमा भइरहेको पुनर्निर्माणमा गत वर्ष र चालू आर्थिक वर्षमा गरी महानगरपालिकाले उपलब्ध गराएको १ करोड ७० लाख रुपियाँले पुनर्निर्माणमा तीव्रता आएको बताउनुभयो । महानगरपालिकाको सहयोगले ढुक्कका साथ विहार पुनर्निर्माण गर्ने उत्साह र विश्वास पैदा गरेको पनि भिक्षु कौण्डन्यको भनाइ रहेको छ ।

समितिका सहसचिव सुनील महर्जनले संस्कृति, सम्पदाप्रतिको संवदेनशीलताको दृष्टिले हेर्दा महानगरपालिकाले यस क्षेत्रमा गर्दै आएको अनुदान सहयोग, लिइएका नीति र योजनाहरु उदाहरणीय रहेको धारणा राख्नुभयो । महानगरपालिकाले सरोकारवालाहरुलाई उत्साहित तुल्याउँदै उच्च मनोबलका साथ संस्कृति र सम्पदा क्षेत्रमा गरेका कार्य अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बनेको पनि सहसचिव महर्जनको भनाइ रहेको छ ।सो अवसरमा इन्जिनियरद्वय सजीव शाक्य र मञ्जुश्री स्थापितले विहार पुनर्निर्माणको भौतिक प्रगतिबारे आफ्नो प्रगति पेस गर्नुभएको थियो ।

सो विहार भूकम्पबाट क्षतिग्रस्त भएको थियो । ८ हजार ५ सय ५७ वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको विहार नेपाली मौलिकसहित र कलात्मक शैलीमा निर्माण भइरहेको छ । करिब ५ करोड रुपियाँ लागतमा पुनर्निर्माण भइरहेको छ । विभिन्न दाताहरुको सहयोगमा दुई वर्षअघि सो विहारको पुनर्निर्माण कार्य शुरु भएको थियो । पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । महानगरपालिकोको दोस्रो अनुदान रकमले निर्माणाधीन भवनसँगैको अर्को भवनको पुनर्निर्माण गरिनेछ । सो अवसरमा अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममूर्ति, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष र विभिन्न महाशाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्