किशोरीको मृत्यु भएपछि गाउँ नै शोकमा

छोरीबहिनी असुरक्षित भए ,स्थानीय बासिन्दा



विनोद सिंह विष्ट, बैतडी । विद्यालयबाट घर फर्किएकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ नै यति बेला शोकमा डुबेको छ । बुबा बितेको ४५ दिन सकिनेबित्तिकै छोरीले मृत्युले गाउँ नै सुनसान छ, शोकमग्न छ ।विभिन्न राजीनिक दलका नेताले निर्मला हत्या प्रकरण जस्तो नहोस् भन्दै खबरदारी गरेका छन् । प्रचण्ड–माधव नेपाल नेकपाले भागरथी भट्टको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ ।

नेकपाका दुवै अध्यक्ष प्रचण्ड र नेपालले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।विगतमा निर्मला पन्तको अनुसन्धानजस्तै यो घटनामा गैरजिम्मेवार नबन्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको जनाक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको तथ्य प्रमाणित गरेको विज्ञप्तिमा भनिएको छ ।हत्या गरिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षणको काम सम्पन्न भएको छ । जिल्ला अस्पताल बैतडीमा शनिबार शव परीक्षणको काम सम्पन्न भएको हो ।

परीक्षणको रिपोर्ट एक दुई दिनभित्रै आउने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘शव परीक्षणको काम सम्पन्न भएको छ, परीक्षण रिपोर्ट एक दुई दिनमा आउँछ ।’शव परीक्षण सम्पन्न भए पनि आफन्तले भने नबुझेको भागरथीका काका शिवराज भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘अपराधी पत्ता लागेको छैन, आज शव परीक्षण गरिएको भए पनि बुझेका छैनौं ।’बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दा बिहीबार साँझ स्थानीय लबलेक जंगलमा विभत्स अवस्थामा फेला परेकी थिइन् । कपडा च्यातिएको, शरीरमा नीलडाम, घाउ, यौनाङ्गमा रगत, घाँटी निमोठेको अवस्थामा शव फेला परेपछि आफन्तले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन् ।

अनुसन्धान तीव्ररुपमा हुँदै छ :प्रहरी
घटनालाई गम्भीररुपमा लिएकाले अनुसन्धानलाई पनि तीव्र बनाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेर काम थालिसकेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरी टोली पुगेर काम थालिरहेको हो ।अनुसन्धानमा सघाउन एसएसपीको नेतृत्वमा छुट्टै प्राविधिक टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।

टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो । यसका साथै धनगढीबाट तालिमप्राप्त कुकुर मगाएर पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।मृतक किशोरीले प्रयोग गरेको मोबाइल पनि भेटिएकाले अनुसन्धानमा थप सहज भइरहेको प्रहरीको भनाइ छ । मोबाइल भेटिएपछि कल डिटेललगायत गरेर अनुसन्धान जारी रहेको छ ।

बाटोमा हिँड्नेहरुलाई समेत सोधपुछ

किशोरीको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुमानअनुसार प्रहरीले घटना भएको क्षेत्रमा सो दिन हिँडडुल गर्नेहरुलाई समेत सोधपुछ गरिहेको छ । घटना शंकास्पद रहेकाले खोचलेक–चडेपानी सडकखण्डमा बुधबार बिहीबार कुनकुन सवारीसाधन सञ्चालन भएका थिए, ती सवारीसाधनमा आवतजावत गर्ने व्यक्तिहरुलाई पनि सोधपुछ गर्ने काम भइरहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताउनुभयो । उहाँले भन्नुभयो– ‘किशोरीका गाउँका विद्यार्थी, सँगै पढ्ने सहपाठीहरुलाई पनि सोधपुध गरिरहेका छौं ।’

छोरीबहिनी असुरक्षित भए : स्थानीय बासिन्दा

गाउँनजिकै बलात्कारपछि हत्याको घटना भएको भन्दै स्थानीय बासिन्दा त्रसित भएका छन् । घटनापश्चात् छोरीबहिनीहरु असुरक्षित भएका स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।विद्यालयबाट फर्किने क्रममा भएको घटनाले अभिभावकहरु आफ्ना छोरीबहिनी असुरक्षित भएको बताउने गरेका सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताउनुभयो । विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भए पनि विद्यालय आउने जाने बेला भइरहेका घटनाले असुरक्षित महसुस भइरहेको छ । उहाँले भन्नुभयो– ‘घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न भन्दै सम्बन्धित निकायलाई ज्ञापनपत्रसमेत बुझाएका छौं ।’

दोस्रो दिन पनि चक्काजाम र प्रदर्शन

किशोरीलाई हत्या गर्ने अपराधीलाई फाँसीको माग गर्दै शनिबार पनि महाकाली राजमार्ग चक्काजाम गर्नुका साथै प्रदर्शन गरिएको छ । आफन्त, विद्यार्थी र स्थानीय बासिन्दाले ढुंगेपानीबजारदेखि खोचलेकसम्म प्रदर्शन गरेका हुन् । शुक्रबार १ बजेदेखि ४ बजेसम्म चक्काजाम पनि गरिएको स्थानीय भोजराज जोशीले बताउनुभयो । दोषीलाई यथाशीघ्र पक्राउ गरी कानुनी दायरा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो । उहाँले भन्नुभयो– ‘दोषी पत्ता नलागेसम्म अझै सशक्तरुपमा अगाडि बढ्छौं ।’ यसअघि शुक्रबार पनि विद्यार्थी र स्थानीय बासिन्दाले राजमार्ग ठप्प पार्दै खोचलेक क्षेत्रमा प्रदर्शन गरेका थिए ।यसका साथै विभिन्न राजनीतिक दलहरुले पनि घटनामा संलग्न रहेकालाई कारबाहीको माग गर्दै आएका छन् । मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्