तारकेश्वरबाहेक काठमाडौंका अरु ठाउँमा बर्डफ्लू भेटिएन



विष्णु परियार, काठमाडौं ।

काठमाडौंको तारकेश्वर नगरपालिकाबाहेक अरु ठाउँमा बर्ड फ्लूको सङ्क्रमण नदेखिएको पशुसेवा विभागले जनाएको छ । यसअघि माघ १६ गते तारकेश्वरमा बर्ड फ्लू सङ्क्रमण देखिएपछि झण्डै २५ सय पक्षी नष्ट गरिएको थियो ।

अहिले सङ्क्रमण देखिएको क्षेत्रलाई सिल गरेर विभागले दैनिक निरीक्षण गरिरहेको पशुसेवा विभागमा प्रवक्ता चन्द्र ढकालले जानकारी दिए । सङ्क्रमण भेटिएको क्षेत्रमा दैनिक विज्ञसहितको टोलीले अनुगमन गरिरहेको छ ।नियमित रुपमा अनुगमन गर्ने, शङ्कास्पद नमुना परीक्षण गर्ने र अध्ययन गर्नेलगायत कामहरु टोलीले गरिरहेको छ ।

सङ्क्रमण भेटिएका फार्ममा ४२ दिनसम्म कुखुरा राख्न नपाउने पनि प्रवक्ता ढकालले बताए । यस्तै पीडित व्यवसायीलाई सरकारले २२ लाख रुपैयाँ राहतसमेत उपलब्ध गराउने भएको छ । पशुसेवा विभागले विज्ञ केन्द्र र नगरपालिकाहरुसँग सङ्क्रमण फैलिन नदिने सहकार्य गरिरहको पनि प्रवक्ता ढकालको भनाई छ । विभागले बर्ड फ्लू सङ्क्रमण अरु ठाउँमा नदेखिएकाले मासु खान डराउनु पर्ने अवस्था नरहेको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्