‘केपी ओलीसंग हामीलाई तुलना गर्नु अन्याय हुन्छ’ : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग आफुहरुको तुलना गरिए अन्याय हुने बताउनु भएको छ । मिडिया एलाइन्सका प्रतिनिधिहरुसँग आज काठमाडौंमा भएको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष दाहालले दुबै उस्तै–उस्तै हुन भनिए न्याय नहुने बताउनुभयो । उहाँले अध्यादेश जारी गर्ने देखि लिएर संसद् विघटनसम्मका कदमलाई ओलीको जंगलीराजको सुरुवातको रुपमा टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहालले काँग्रेस, जसपा लगाएतका दलहरुसँग संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने विषयमा छलफल भइरहेको भन्दै फागुनको पहिलो साताभित्र निष्कर्षमा पुग्ने बताउनुभयो । उहाँले अहिलेको परिस्थिति आउनुमा आफुहरुको कमजोरी छ कि भनि आत्मसमीक्षा गर्ने भन्दै चाँडै नै स्वेतपत्र जारी गर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले जनयुद्धदेखि गणतन्त्रसम्म सञ्चारक्षेत्रको भूमिका उल्लेखनिय रहेको बताउनुभयो । भोलिका दिनमा पनि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै जाने उहाँको प्रतिबद्धता थियो ।

कार्यक्रममा अर्का अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफुहरु नै भएको भन्दै दुई तिहाइ केन्द्रीय सदस्यको बहुमतलाई कसैले नकार्न नसक्ने टिप्पणी गनुभयो । ओलीका प्रसंसा मात्र सुन्ने बानी रहेको उहाँको आरोप थियो । प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार नरहेको जिकिर गर्दै प्रजातन्त्र र संविधानको रक्षाका लागि आन्दोलनमा उत्रिएको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले संकटमा परेको मिडिया उद्योगलाई विकल्प दिन सक्नु पर्ने बताउनुभयो । कार्यक्रममा मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णीकारले संचार उद्योगको संरक्षणको लागि सरकारले काम गर्न नसकेको वताउनु भयो । उहाँले प्रजातन्त्र तथा लोकतन्त्रमा मात्र संचार माध्यम वाच्न सक्ने भन्दै अध्यक्ष राजकर्णिकारले संविधानको रक्षामा संचार माध्यमले भुमिका खेल्न सक्ने वताउनु भयो ।

मिडिया एलाईन्सका महासचिव लक्ष्मण हुमागाइँले लोकतन्त्र विना संचार क्षेत्र वाच्न नसक्ने भन्दै लोकतन्त्रको रक्षाको लागि संचार क्षेत्र सदैव सक्रिय रहने वताउनु भयो । उहाँले संचार माध्यमलाई स्वतन्त्र, स्वायत्त र निष्पक्ष वनाउन पार्टी पत्रकारितावाट मुक्त गरिनु पर्ने वताउनु भयो । उहाँले द्धन्द सह्य नहुने भन्दै राजनीतिक दलहरुले विगतमा गरेका गल्ती सच्यायर आउनु पर्ने वताउनु भयो ।
त्यसअवसरमा एलाईन्सका सदस्य ऋषि धमला, तथा ईमेज च्यानलका अध्यक्ष आरके मानन्धरले मिडियाले अहिले भोगिरहेको समस्या तथा एलायन्सले गरेको कामबारे जानकारी गराउनु भएको थियो ।

त्यस अवसरमा मिडिया एलाईन्समा मुल धारका ८० प्रतिशत मिडिया संलग्न रहेको जानकारी दिईएको थियो । कार्यक्रममा संचार क्षेत्रमा एक खर्व भन्दा वढीको लगानी रहेको, हजारौ व्यक्तिले रोजगारी प्राप्त गरेको भन्दै संचार क्षेत्रको नियामक निकायको गठन गर्न, दक्षताको आधारमा पत्रकार तथा कर्मचारीको छनौटको व्यवस्था गर्न माग गरिएको थियो । कार्यक्रममा मुलधारका संचार माध्यमका लगानीकर्ता तथा प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्