मुटु बचाउन जीवनशैली परिर्वतनमा जोड

ललितपुरमा स्वास्थ्य शिविरको अभियान



न्युज अफ नेपाल, ललितपुर ।

उच्चरक्त चाप र मधुमेह गर्दा मुटुरोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् ।

शनिबार बुबहालमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो । गत साता नशा तथा हाडजोर्नी परीक्षण गरिएकोमा यस पटक मुटुको परीक्षण गरिएको थियो ।

‘जीवनशैलीलाई परिर्वतन गरी आहार, विहारको नियन्त्रण र व्यायाम जोड्न सकेन भने मुटुरोगीहरुको संख्या झन् बढ्दै जाने छ । ’ स्वास्थ्य परीक्षणपछि डा. दीपक मिश्रले भन्नुभयो ।शिविरमा मधुमेह र उच्चरक्त चापले गर्दा मुटु रोगी भएका बिरामी र भर्खर भर्खर औषधी सेवन गर्न थालेका गरी ८३ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘ एलडीएल कोलेस्टोरले गर्दा मुटुमा समस्या भएका बिरामीहरुले पनि स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य सम्बन्धी चेतना जगाउन सकेन भने मुटुरोगीहरुको संख्या बढ्दै जाने बताउँदै डा. मिश्र, डा. कृृष्णगोपाल महर्जन, डा. उर्मिला शाक्यले महानगरपालिका र वडाले चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने खाँचो औल्याउनुभयो । शिविरमा औषधी पनि निशुल्क वितरण गरिएको थियो भने ईसीजी पनि गरिएको थियो ।

सो अवसरमा अरनिको समाजका महासचिव डा. सुशील प्रजापतिले शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरु थप उपचारको लागि ललितपुर सामुदायिक हदयरोग सेवा केन्द्र मणिडोलमा आएमा २० प्रतिशत छुट दिने घोषणा गर्नुभयो ।

स्वास्थ्य सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अभियानकैै रुपमा शिविर आयोजना गरिएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार शिविरबाट १६ वडाका साथै आसपासका वडाहरु क्रमशः ९, ११, १२, १९ र २० का मानिसहरु पनि लाभान्वित भएका छन् ।

आउँदो शनिबार बालिफल (अशोक हलमा) बाल छाला तथा आँखा रोग सम्बन्धी शिविर, फागुण ८ गते नागबहालमा स्त्री रोग सम्बन्धी शिविर, फागुण १५ गते दौबहालमा पेट तथा कलेजो सम्बन्धी शिविर, फागुण २२ गते मंगलबजारमा ज्येष्ठ नागरिकहरुको लागि नशा, युरोलोजी, मधुमेह र जनरल सम्बन्धी शिविर सञ्चालन हुने छ । समाजका अनुसार स्त्री रोग सम्बन्धी जाँचमा ४५ वर्ष भन्दा माथिका महिलाहरुको पायस्प्समेर निशुल्क परीक्षण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्