खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट: न्यू होराइजनलाई उपाधि



यमलाल भुसाल, बुटवल ।

सुपर ओभरमा धनगढी क्रिकेट एकेडेमीलाई ८ रनले पराजित गर्दै न्यू होराइजन क्रिकेट एकेडेमीले भैरहवामा सम्पन्न तेस्रो खड्गप्रसाद गौचन मेमोरियल अन्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । जितसँगै उसले २० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्यो । उपविजेता धनगढीले १० हजार रुपैयाँ र ट्रफीमै चित्त बुझायो ।

प्रतियोगिता माम्यान अफ द सिरिज र बेष्ट ब्याट्सम्यान धनगढीका कप्तान नरेन भट्ट घोषित भएभने धनगढीकै रजत राना उत्कृष्ट बलर भई पुरस्कृत हुनु भयो ।

सिद्धार्थ रंगशालामा आज भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित ३५ ओभरमा ७ विकेट क्षतिमा १४८ रन बनायो । उसका लागि पुष्पराज उपाध्यायले ३९, सचिन साउदले ३३ र खगेन्द्र कुँवरले २७ रन बनाएका थिए । बलिङमा होराइजनका सुमित पराजुलीले ३, अनिल थापाले २ र समिर खाँनले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको होराइजनले ३४ ओभर ४ बलमा सबै विकेट गुमाई १४८ नै बनायो । उसका लागि राहुल भण्डारीले २९, सुमित पराजुलीले १८ र सचिन थापाले १० रन बनाए ।बलिङमा धनगढीका संदीप विष्ट र रजत रानाले समान ३/३ विकेट लिए । सुपर ओभरमा होराइजनले १ विकेटको क्षतिमा १२ रन बनाएको थियो । धनगढीले भने १ विकेट क्षतिमा ४ रन मात्रै बनाउन सक्यो । होराइजनका सुमित पराजुली म्यानअफ द फाइनल भई पुरस्कृत हुनु भयो ।

विजेतालाई प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेय, रुपन्देहीक्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल र रामकुमारी गौचनलगायतले पुरस्कार प्रदान गर्नु भयो । पूर्वराष्ट्रि क्रिकेटर शक्तिप्रसाद गौचनको स्टार क्रिकेट एकेडेमीको आयोजनामा प्रतियोगिता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्