डडेल्धुराको आम हडतालमा प्रचण्ड-नेपाल समूह निरीह



राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्लामा बिहीबार आम हडतालको दिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह निरीह देखिएको छ ।देशव्यापीरुपमा घोषित आम हडतालको दिन सदरमुकामका केही पसल बन्द भए पनि अधिकांश पसल र बजार क्षेत्र खुला रहेका थिए । आमहडताल घोषणा गरिए पनि सो समूहका जिल्लास्तरीय नेता कार्यकर्ताहरुले सदरमुकाममा समान्य जुलुससमेत प्रदर्शन गर्न सकेनन् ।

सो समूहका जिल्ला अध्यक्ष मानसिंह माल ‘क्रान्ती’ आमहडतालको दिन जिल्लामा देखिएनन् । धनगढीमा रहेका उहाँले अकस्मात् आमहडताल घोषणा गरिएको र डडेल्धुरा आउन नसकिएको टेलिफोन सम्पर्कमा बताउनुभयो ।
नेकपा विभाजन हुँदा डडेल्धुरा जिल्लामा प्रचण्ड–नेपाल समूहका जिल्लास्तरीय नेताहरुको बाहुल्यता रहेको भए पनि आमहडतालमा कुनै पनि जिल्लास्तरीय नेताहरु सदरमुकाममा नदेखिनु र आमहडतालको खासै प्रभाव नपर्नुले प्रचण्ड–नेपाल समूह डडेल्धुरामा निकै निरीह रहेको देखिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

नेकपा सम्बद्ध स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहले सदरमुकाममा शक्ति प्रदर्शन गर्न चाहेको भएमा मुडभेडको अवस्था सिर्जना हुनसक्थ्यो । ‘ओली पक्षका कार्यकर्ताहरु घोषित आमहडतालको प्रतिवाद गर्ने सामथ्र्य राख्थे’, नेकपा ओली समूहका एक जिल्लास्तरीय नेताले भने– ‘डडेल्धुरामा आमहडतालका आयोजकहरु निरीह देखिएकै कारण हामी पनि एक्सनमा गएनौं ।’बजार बन्द गराउँदै हिँडेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले प्रहरीमाथि जिल्लाको भात्काँडा बजारमा आक्रमण गरेका छन् । उनीहरुले गरेको ढुंगा प्रहारबाट भात्काँडा प्रहरी चौकीका इन्चार्ज अम्मरबहादुर खठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो । ढुंगा प्रहारबाट खठायतको खुट्टामा चोट लागेको छ ।

आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले डडेल्धुरा सदरमुकाममा रहेका विद्यालयहरु भने बन्द गराउन सकेका छन् भने लामो दूरीका सवारी साधनहरु सञ्चालनमा आउन सकेनन् । जिल्लाका ग्रामीण क्षेत्रमा बन्दको आशिंक प्रभाव परेको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्