बिहानै अस्तायो सरोज खनालको सूर्य (भिडियोसहित)



कोरोना महामारीको जोखिमका कारण देशभर लकडाउन लगाइएको छ। राष्ट्रप्रमुख संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर सरकारले पूरै देशमा लकडाउन गरेको बताइरहेकी छिन्। लकडाउनका कारण शहर सुनसान छ, अज्ञात भय जताततै छाएको छ। आज श्रम गरेर आजै खानुपर्ने वर्गका मजदुरहरु भोकले छटपटाइरहेका छन्।

केही अगाडिसम्मको यो अत्यासलाग्दो वास्तविक सन्दर्भ हो कुशल अभिनेता तथा रंगकर्मी सरोज खनालद्वारा निर्देशित छोटो फिल्म बिहानीमै अस्ताएको सूर्यको। खनालले कोरोना जोखिमका कारण देशमा लगाइएको लकडाउनका कारण भोकभोकै छटपटाउन र मर्न विवश मजदुरको कथा मन छुने ढंगले पेस गरेका छन् बिहानीमै अस्ताएको सूर्यमा।

११ मिनेटको छोटो फिल्ममा सरकार प्रमुखले लकडाउनबाट ज्यालादारी गरेर गुजारा गर्ने श्रमिकहरु सर्वाधिक मर्कामा भएको र जनताको सरकार भएकाले कोही भोकै पर्दैन, कोही भोकै मर्दैन। खाना र आवासबिना नेपालीहरु अलपत्र परेर बस्नु पर्दैन भनेर आश्वासन बाँडिरहेकै बेला सूर्यबहादुर भने परोपकारीहरुले बा“डिरहेको खाद्यान्न राहतको लाइनमा पालो कुरिरहेको हुन्छ।

उसलाई मजदुरी गराएर ज्याला दिने साहुले राहत खाद्यान्न थापेको देखेको सूर्यबहादुरको साँझमा बल्ल पालो आउँदा त्यस दिनका लागि राहतको कार्यक्रम नै सकिएको जवाफ पाउँछ। दुनियाँको सामानको भारी बोकेरआफ्नो जीवनको भारी घिसारिरहेका बेला सूर्य उदाएर उसको निधारलाई ढागिसक्दा सूर्यबहादुरको जीवनको भारी अस्ताइसकेको हुन्छ। देशमा लकडाउन शुरु भएपछि सूर्यबहादुरको जिन्दगी थप समस्याग्रस्त बन्न पुग्छ।

न मजदुरी गर्न पाउँछ, न खान नै। राहत पाउने भीडमा पनि ऊ ठगिन्छ। बल्ल–बल्ल पाएको भारी बोकेर कमाएको केही रुपियाँ पनि भोकका कारण मरिसकेको मानिसलाई कात्रो पनि ओढाउन नसकिएको भेटिएपछि कात्रो किन्न दिएर फेरि आफैं भोको पर्न जान्छ सूर्यबहादुर।

र, पुकार्छ ‘ए सरकार भोकमारीले कोही मर्नु पर्दैन भाषण नगर, बरु भोकमारीले मरिहाले पनि बिना कात्रो जल्नुपर्दैन भनेर वाचा गर। अनि त्यो कात्रोचाहिँ बिना परिचयपत्र देऊ है। आज सकियो भोलि नभन। मान्छे नै जलाइसकेपछि भोलि पाइने कात्रोको त कुनै काम छैन नि हैन?’ अन्ततः भोकसँगको लडाइँका कारण सूर्यबहादुर बिहानबिहानै सधैंका लागि अस्ताउँछ।
‘ऊ मर्नुअघि सरकारले नेपालीहरु भोकले मर्नु पर्दैन भनेको नसुनेको पनि होइन।

राशन राहत पाइन्छ भनेर लाइनमा नबसेको पनि होइन। न थियो हातमा परिचयपत्र, न थियो फोनमा भनसुन गरिदिने कोही मित्र। उसले खाद्यान्नको भारी बोकिदिने गरेका साहु राहतको लाइनमा सबैभन्दा अगाडि थियो। साँझमा बल्ल उसको पालो आयो । तब खुसीले चिल्लो भएको अनुहार कर्मचारीले आजलाई सकियो अब भोलि भनेपछि फेरि उस्तै गरी चाउरियो कुनै देशको नक्साजस्तै सूर्यबहादुरको अनुहार।’ –खनालको पहिलो निर्देशकीय छोटो फिल्मले भन्छ।

खनालले लामो र कठोर संघर्षपछि प्राप्त परिवर्तन जनताका लागि नभएको पनि यो छोटो फिल्ममा देखाएका छन्। जसलाई मार्मिक ढंगले सूर्यबहादुरको अन्तर्हृदयबाट भनिएको छ– ‘म आन्दोलनमा होमिएर तिमीले, तिम्रा आफन्तले, तिम्रा सन्तानले भोकै मर्नु त परेको छैन।

मैले मेरा आफन्त सबै गुमाएँ, तब त तिमीले तिम्रा आफन्तको खुसी देख्न पाएका छौ। बरु त्यही आन्दोलनमध्ये कुनै आन्दोलनमा मरेको भए आज मान्छेले मलाई छि नामर्द सूर्यबहादुर एक छाक खाने जोहो गर्न नसकेर म-यो त भन्ने थिएनन्।’ छोटो फिल्मबाटै निर्देशनमा डेब्यु सही, यस मार्फत् खनालले कुशल निर्देशक बन्ने क्षमता आफूमा भएको संकेत गरेका छन्।

सूर्यबहादुर बनेका सुनील पोखरेलको जीवन्त अभिनयले छोटो फिल्मलाई लामो समय सम्झिने फिल्म बनाइदिएका छन्। गोविन्द श्रेष्ठ, दीपेश गुरुङ, निश्चल ठकुरी, सुशीला थापा, केशवजंग शाही, श्रीपा मानन्धर, सविन ढुंगाना र गायत्री लम्सालको अभिनय फिल्मका लागि सहायकसिद्ध सावित भएको छ भने सुरज काफ्लेको कवितात्मक संवादले सबैको मनलाई चसक्क बनाइदिन्छ।

प्रतिक्रिया दिनुहोस्