कोरोना महामारीका बेला विश्वको मन जित्ने तीन व्यक्तित्व



बिल गेट्स र मेलिन्डा गेट्स :

माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले ५ फेब्रुअरीमा विश्वभरि कोभिड–१९ परिक्षण, आइसोलेसन र उपचारका लागि बिल मेलिन्डा गेट्स फाउनडेसनले १० करोड अमेरिकी डलर प्रदान गर्ने बताएका थिए ।

सो धनराशिको आधारभन्दा बढी परिमाण विकासोन्मुख मुलुकमा कोरोना भाइरस विरुद्धको खोप विकास, उपचार तथा रोग पहिचानमा खर्च गर्न दिइने बताइएको थियो ।

तर, मे महिनाको मध्यसम्ममा यस फाउन्डेसनले वाचा गरिएको सहयोग रकम बढाएर ३० करोड ५० लाख डलर पु-यायो । गेट्स दम्पतीले अमेरिकामा राष्ट्रिय रोग पहिचान प्रणालीका लागि आह्वान गर्नुका साथै राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई आर्थिक सहयोग रोक्ने घोषणाको आलोचना पनि गरेका थिए ।

माइकल डेल :

गत ३ अप्रिलमा डेलले लिंक्ड इनमार्फत आफ्नो दातृ कोषले कोभिड–१९ को महामारीमा राहत प्रयासका लागि १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका थिए । उनले त्यसमध्ये २ करोड डलर बिल गेटसको ‘कोभिड–१९ थेरोप्युटिक्स एक्सेलरेटर’मा खर्चिने जानकारी दिएका थिए ।

बाँकि ८ करोड डलर स्वास्थ्य स्याहार प्रणाली, गैरआयमूलक योजनाहरू, शिक्षा र साना व्यापार व्यवसाय प्रवद्र्धनमा खर्च गरिने बताइएको छ । आफ्नै नाममा प्रविधि व्यापार क्षेत्रमा तहल्का मच्चाउँदै आएका डेलले चीनका अस्पतालहरूमा सर्जिकल मास्क लगायतका अन्य मडिकल सामग्री खरिदका लागि २ लाख ८४ हजार डलर दिनेसमेत घोषणा गरेका थिए ।

साथै, डेलले चीनको हुबेई प्रान्तस्थित रोग नियन्त्रण तथा रोकथाम केन्द्रका लागि ८ लाख ५३ हजार डलर बराबरको आइटी सेवा पनि निःशुल्क उपलब्ध गराउने भएको छ । यसैबीच, डेल कम्पनीले विश्वव्यापीरूपमा कोभिड–१९ विरुद्ध विभिन्न प्रयास थालनीका लागि पनि ३० लाख डलर बराबरको प्राविधिक सहयोग छुट्याएको छ ।

केन ग्रिफिन :

सन् २०२० को ४ फेब्रुअरीमा अर्बपति केन ग्रिफिनको राहत सहयोग कोष ‘सिटाडल’ ले कोरोना भाइरसको मुख्य केन्द्रबिन्दु चीनको हुवेई प्रान्तलाई ७५ लाखभन्दा बढी अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

यसै क्रममा सिटाडलका साझेदार सिटाडल सेक्युरिटिजले सिकागोको झन्डै ५ सय विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई खुवाउन १० लाख डलर तथा ४५ लाख जनाको खानाका लागि ग्रेटर सिकागो फुड डिपोजिटरीलाई १५ लाख डलर प्रदान गरेको छ ।

यसैगरी, ६ अप्रिलमा सिटाडेल न्युयोर्कको एउटा अस्पताललाई कोभिड–१९ रोकथाम तथा विशेष परीक्षण र उपचारका लागि ५० लाख डलर दान दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्