आइसक्रिममा पनि भेटियो कोरोना भाइरस



बेइजिंङ, (एजेन्सी)

उत्तर–पूर्वी चीनमा आइसक्रिममा कोभिड–१९ पोजेटिभ भेटिएको छ । चीनको सियानजिन महानगरबाट लिइएको आइसक्रिमको तीनवटा नमुनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

सम्भवतः फोहर र निकै चिसो तापक्रममा राखिएका कारण आइसक्रममा पनि भाइरस संक्रमित हुन पुगेको हुनुपर्ने अनुमान गरिएको छ । विश्वका १० करोड ५० लाखभन्दा बढी मानिसलाई संक्रमित गरेर नपुगेर अब आइक्रिमलाई पनि कोभिड १९ ले नछाडेकोमा मानिसहरू अचम्भित भएका छन् ।

चकलेट, स्ट्रबेरी र टारो गरी तीन प्रकारका आइसक्रिमका नमुनामा भाइरस भेटिएको चीनको स्थानीय सञ्चार माध्यमले जनाएको छ । केक, आइसक्रिम र अन्य जमाइएका खाद्य परिकारहरु उत्पादन गर्ने सियानजिन दाकियादाओ खाद्यान्न कम्पनीले ती नमुना उपलब्ध गराएको हो ।

भाइरस भेटिएको सुचना प्राप्त हुनासाथ कम्पनीको उत्पादन कार्य बन्द गरिएको छ । कम्पनीबाट वितरण खाद्य पदार्थहरू गरिएका सम्पूर्ण स्थान र व्यक्तिहरु पत्ता लगाइसकेको छ । सो कम्पनीका सम्पूर्ण १ हजार ६ सय ६२ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । ती आइसक्रिम न्युजिल्यान्ड र युक्रेनबाट आयातित दूधबाट बनाइएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्