बनेपामा खुल्यो बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्वर ७ चारदोबाटो चोक नजिकै बामगती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको कार्यालय र कारोवार शुभारम्भ गरिएको छ । संघीय राजधानी काठमाडौमा कर्पाेरेट कार्यालय र बागमती प्रदेशको राजधानी मकवानपुरमा सम्पर्क कार्यालय राख्ने गरी कार्यालय शुभारम्भ गरिएको अध्यक्ष उद्धव सापकोटाले बताउनु भयो ।

कार्यालय र कारोवार शुभारम्भ गर्दै अध्यक्ष सापकोटाले मलुक निर्माणमा सहकारी अभियानको महत्वपूर्ण भूमिका रहेकाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सहकारी सदस्यहरुको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालन गरी समृद्ध सहकारी र सहकारीका समृद्ध सदस्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले सहकारीले सरकारका तीन वटै निकायसँग समन्वय गरी सरकारले गर्ने कार्यहरुको समन्वय तथा साझेदारीता गर्नु पर्ने बताउनु भयो । अझै मुलुकका धेरै स्थानीय तहमा बैकहरुको स्थापना हुन नसक्दा राज्यले बैक मार्फत भुक्तानी गर्न खोजेको सामाजिक सुरक्षा भत्ता वितरणमा असहज भएकाले सहकारी मार्फत गर्न नीतिगत निर्णय गर्नु पर्ने बताउनु भयो ।

सहकारीमा तदर्थ समिति गठन गर्दा बागमती प्रदेश भित्रका १ सय १० सहकारीहरु सदस्य भएका छन् । जसबाट ७० करोड रकम संकलन भएको छ भने थप ३५ वटा सहकारीलाई सदस्यता दिने निर्णय भएको अध्यक्ष सापकोटाले बताउनु भयो । सहकारी संघले संकलन गरेको बचत मध्ये एकै दिनमा ३२ करोड लगानी गरिसकेको छ । काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै ४० करोड रकम संकलन भएको छ । २०७७ साउन १३ गते दर्ता अनुमती प्राप्त गरेको उक्त संघले २०७७ कार्तिक २२ गते प्रारम्भिक साधारण सभा सम्पन्न गरेको थियो ।

साधारण सभाबाट अध्यक्ष उद्धव सापकोटा, बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष राधा सिन्तान, महासचिव जिवसराज खड्का, सचिव गोविन्दप्रसाद काफ्ले, कोषाध्यक्ष टापबहादुर श्रेष्ठ रहनु भएको छ । सदस्यहरुमा इन्द्र घिमिरे, तेजेन्द्र खड्का, जगन्नाथ दाहाल, ठाकुर बास्कोटा, कृष्णगोविन्द लाखाजु, प्रकाश बञ्जारा, प्रदिप थापा, ओमप्रसाद अधिकारी, कृष्णहरी कोईराला, राधा कडेरिया र चक्रबहादुर बस्नेत रहनु भएको छ । लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक केशवप्रसाद दंगाल, सदस्यहरुमा रमिला शाक्य श्रेष्ठ र रमेश श्रेष्ठ रहनु भएको छ । सल्लाहकारमा रामहरी केसी रहनु भएको छ ।

सभामा सहकारी संघसग सम्वन्धित ब्यक्तित्वहरु, काभ्र्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरी केसी, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का र सचिव गोविन्द्रप्रसाद काफ्ले लगायतले सहकारीको भूमिकाका बारेमा मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्