महासंघ र मिडिया उद्योगबीच सहकार्य ,कार्यदल गठन गर्ने निर्णय



काठमाडौं । सञ्चार प्रतिष्ठानका सञ्चालकहरूको संगठन मिडिया अलाइन्स र निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने भएका छन् ।

हालसम्म महासंघले निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरूको समस्यामा मात्रै सरकारसँग लविङ गर्दै आएकोमा अबदेखि मिडिया उद्योगहरूको समस्यालाई पनि निजी क्षेत्रकै समस्याका रूपमा ग्रहण गरी समस्या समाधानका लागि पहल गर्ने भएको हो । उक्त कार्यका लागि महासंघ र मिडिया अलाइन्सका प्रतिनिधि सम्मिलित कार्यदल गठन हुने भएको छ । बुधबार महासंघ सचिवालयमा आयोजित महासंघका पदाधिकारी अलाइन्सका पदाधिकारीबीचको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

महासंघ र अलायन्सका ३–३ जना प्रतिनिधि रहने कार्यदलले दुवै क्षेत्र अर्थात् उद्योग व्यवसाय र मिडिया क्षेत्रका मूल मुद्दाको पहिचान गरी एक–अर्कामा सहयोग गर्ने, संस्थागत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र स्वदेशी मिडियाको प्रवद्र्धनलगायतका विषयमा काम गर्नेछ । सो सम्बन्धमा निकट भविष्यमै दुवै संस्थाले सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।बैठकमा महासंघका अध्यक्ष शेखर गोल्छाले मिडिया सेवामूलक उद्योग भए पनि हालसम्म महासंघले मिडिया सञ्चालकका समस्यामा नबोलेको स्वीकार गर्दै अब भने मिडिया उद्योगका समस्यालाई पनि महासंघले ग्रहण गर्दै समस्या समाधानका लागि लविङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महासंघले तयार गर्ने भिजन पेपरमा पनि मिडिया उद्योगका समस्या समावेश गर्ने जानकारी गराउनुभयो ।

गोल्छाले भन्नुभयो, ‘कोरोनाका कारण अन्य व्यवसाय जस्तै मिडिया उद्योग पनि प्रभावित भएको छ, अन्य उद्योगका समस्या समाधानका लागि महासंघले लविङ ग¥यो तर मिडिया उद्योगका बारेमा बोलेको थिएन, अब मिडियामा समस्याका बारेमा पनि हामी लविङ गर्नेछौं, अन्य प्लेटफर्महरूमा पनि बोल्नेछौं ।’ तर, उहाँले मिडियाहरू उद्योग व्यापारका समस्यामा पनि बोल्नुपर्ने उहाँको भनाइ छ ।बजार अनुगमनका नाममा व्यवसायीको मानमर्दन गर्ने, कालोबजारी, नाफाखोरी संज्ञा दिनेलगायतका समाचारप्रति उहाँको आपत्ति थियो । सरकारले अनुगमन गर्दैमा, छापा मार्दैमा वा व्यवसायीलाई पक्राउन व्यवसायी दोषी प्रमाणित नहुने भए पनि मिडियाले भने दोषी जस्तै गरी समाचार सम्प्रेषण गर्ने प्रवृत्ति रहेको गोल्छाले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकारले गर्ने बजार अनुगमनले व्यवसायीको मानमर्दन भएको छ, अनुगमन गर्दैमा, राजस्वले छापा मार्दैैमा न्युज हुन्छ र रु निगेटिभ न्युज धेरै आउँछ, मिडियाले व्यवसायीलाई नाफाखोरी, कालोबजारी भन्छ । मिडिया अलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले मिडिया उद्योगका समस्या प्रस्तुत गर्दै अन्य उद्योग व्यापारका साथै मिडिया उद्योगलाई महासंघले संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले कोराना महामारीका साथै सोसल मिडियाका कारण पनि मिडिया उद्योगको विज्ञापन प्रभावित भएको र व्यवसायीले पनि सोसल मिडियामार्फत आफ्नो वस्तु तथा सेवाको विज्ञापन गर्ने क्रम बढेर गएको भन्दै यस्तो प्रवृत्ति रोक्न आग्रह गर्नुभयो ।

राजकर्णिकारले भन्नुभयो– समाजिक सञ्जाललाई निजी क्षेत्रले फरकरूपमा व्यवहार गर्नुपर्छ, विभिन्न उद्योग प्रतिष्ठानले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्ने गरेका छन्, जसमा निजी क्षेत्रको ३ सय करोड रुपैयाँ अवैधरूपमा खर्च भएको छ । जसकारण १२ सय करोडको विज्ञापन बजार ५० प्रतिशतले घटेको छ । महासंघ र मिडिया अलाइन्सको संस्थागत व्यावसायिक सम्बन्ध हुनुप¥यो ।’ पछिल्लो समय क्लिनफिड कार्यान्वयनमा आए पनि विदेशी कम्पनीको विज्ञापन रोकिएको क्लिनफिड कार्यान्वयनले नेपाली मिडिया उद्योग लाभान्वित हुने पनि उहाँले बताउनुभयो ।

महासंघका अध्यक्ष दिनेशकुमार श्रेष्ठले महासंघ र अलाइन्सबीचको सहकार्यलाई राम्रो सुरुवात भन्दै विदेशी मिडियाबाट हुने सांस्कृतिक आक्रमणलाई निरुत्साहित बनाउने कार्यमा नेपाली मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । महासंघको समस्या नलिएका उद्योग प्रतिष्ठानका समस्यामा पनि महासंघले बोल्ने गरेको मिडिया उद्योगका समस्यामा पनि बोल्ने उहाँको भनाइ थियो । बैठकमा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, कार्यकारिणी समितिका सदस्य र मिडिया अलाइन्सका तर्फबाट उपाध्यक्ष राजु क“डेल, महेन्द्र शेरचन, महासचिव लक्ष्मण हुमागाईं, कोषाध्यक्ष उज्ज्वल शर्मा पनि सहभागिता थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्