सेतो दूधमा कालो मूल्य

आफ्नालाई १५, अन्यलाई ६ रुपियाँ अनुदान



भूपराज बस्याल, स्याङ्जा । नगरलाई ‘सेतो शहर’ नामकरण गरेर सहकारीमा दूध बेच्ने कृषकलाई नगरपालिकाले प्रतिलिटर १५ रुपियाँ अनुदान दिने गरेको भए पनि अनुदानमा एकरूपता नहुँदा कृषकमा निराशा छाएको छ ।गल्याङ नगरपालिका–८ गोलौदीका टेकलाल खरालले दैनिकी ८ देखि ९ लिटरसम्म दूध सहकारीमा बेच्नुहुन्छ ।

दूध बिक्री गरेबापत नगरपालिकाले किसानलाई उपलब्ध गराउने प्रतिलिटर १५ रुपियाँबाट भने उहाँ वञ्चित हुनुहुन्छ । आफूले दूध बिक्री गर्ने सहकारीमा नगरप्रमुखको लगानी नभएकाले नगरपालिकाले उपलब्ध गराउने अनुदानबाट वञ्चित भएको उहाँको बुझाइ छ ।‘हामीले अनुदान पाउनका लागि नगर प्रमुखको लगानी भएको साना किसान सहकारीमा दुध बेच्नुपर्ने रहेछ । तर, हामीले नजिकै रहेको गाउँ सुधार दुग्ध उत्पादन सहकारीमा दूध बेच्दा नगरपालिकाबाट उपलब्ध हुने अनुदानबाट बन्चित हुन प¥यो’, खरालले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘हाम्रो सहकारीको दूध राम्रो भएका कारण अत्यधिक मात्रामा बजारमा बिक्री हँुदोरहेछ । थोरैमात्र साना किसानको चिस्यान केन्द्रमा जाँदोरहेछ ।

जति दूध साना किसानको चिस्यान केन्द्रमा गयो उसको मात्रै अनुदान पाइने रहेछ ।’सोही सहकारीमा दूध बिक्री गर्ने अर्का किसान टीकाराम खरालको पनि उस्तै गुनासो छ । ‘दूधमा मात्रै नभएर भैंसी किन्दासमेत अनुदान दिन्छु भन्नुभएको थियो तर ती सबै भाषण मात्रै रहेछन् ।’ –उहाँले आक्रोश व्यक्त गर्नुभयो ।नगरपालिका प्रमुख भूपराज अधिकारीले नगरपालिकाले सीधै किसानको खातामा अनुदान रकम पठाउने गरेको बताए तापनि कागजीरूपमा पुष्टि भएको छैन ।

त्यस्तै गाउँ सुधार दुग्ध उत्पादन सहकारी संस्था झोल्पेका अध्यक्ष निमनाथ खरालले आफ्नो सहकारीको क्षेत्र वालिङ नगरपालिका पनि परेकाले नगरपालिकाबाट पाएको अनुदान वालिङ नगरपालिका र गल्याङ नगरपालिकाका किसानलाई वितरण गर्दा यस्तो समस्या आएको भन्दै नगरप्रमुखको बचाउ गर्नुभयो ।नगरपालिकालाई उपलब्ध गराएको लिस्टको आधारमा सीधै कृषकको खातामा रकम नगरपालिकाले उपलब्ध नगराएको भन्दै नगरपालिकामा जम्मा भएको कृषकका अनुदान रकम ल्याएर प्रतिलिटर ६ रुपियाँका दरले वितरण गरेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्