भारतका कारण खुलेनन् सुदूरका नाका



विनोदसिंह विष्ट, बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका भारतसँग जोडिएका नाकाहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । नेपाल सरकारले भारतसँग सीमा जोडिएको सुदूरपश्चिमका सबै नाका गत शुक्रबारदेखि खुला गर्ने निर्णय गरी भारतलाई पत्र पठाएको थियोे ।

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकालाई सञ्चालनमा ल्याउने निर्णय गरेको हो । निर्णय भए पनि अझै नाकामा आवत–जावत हुन नसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । ‘नेपाल सरकारले निर्णय गरेको भए पनि भारतीय पक्षबाट नाका खोल्ने विषयमा अझै जानकारी आएको छैन’, उहाँले भन्नुभयो ।

‘नेपाल सरकारले बिहीबार गरेको निर्णयसहितको पत्र भारतीय स्थानीय प्रशासनलाई पठाएका छौं, उनीहरुले पनि आफ्नो माथिल्लो निकायलाई पत्राचार गरिसकेको जानकारी प्राप्त भएको छ । तर, नाका खोल्ने विषयमा भारतीय पक्षबाट जानकारी नआउँदा नाकामा आवत–जावत हुन सकेको छैन ।’सरकारले सीमानाका खोल्ने निर्णय गरेकाले धेरै नागरिक नाकामा पुगी अलपत्र परेका छन् । नाका खुल्ने खबरले झुलाघाट नाकामा पुगेकाहरु अलपत्र परेका हुन् । सुदूरपश्चिमका सबै नाकामा भारतीय पक्षबाट नाका खोल्ने विषयमा अझै सहमति नआएकाले समस्या भइरहेको छ ।

नेपालका तर्फबाट नाका खोल्ने विषयमा कुनै समस्या नभए पनि भारतीय पक्षको निर्णय आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो । भारतीय पक्षको निर्णय आउने बित्तिकै नाकाबाट आवत–जावत हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्