पर्वतमा मगर संग्राहलय निर्माण गर्न महोत्सवको आयोजना



पर्वत । मगर जातीका कला, संस्कृति, भेसभुषा लगायतलाई राख्ने गरी संग्राहलय निर्माण गर्न पर्वतमा मगर महोत्सवको आयोजना गरिने भएको छ।

३९ औँ मगर दिवसको अवसर जिल्लामा रहेको पुन युवा क्लबको आयोजनामा फागुन १५ देखि २५ गतेसम्म महोत्सवको आयोजना गरिएको क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो ‘कला संस्कृतिको सम्बद्र्धनमा ऐक्यबद्धताः खेल, व्यापार तथा पर्यटन प्रबद्र्धनमा प्रतिबद्धता’ भन्ने नाराको साथमा आयोजना गरिएको महोत्सवबाट बचत भएको रकमलाई सङ्ग्रहालय बनाउन खर्चिने गरी महोत्सवको आयोजना गरिएको उहाँको भनाइ छ।

‘मगर जातिका आफ्नै मौलिक कला, संस्कृति, संस्कार, भेसभुसा, गीत, नृत्य लगायतका धेरै कुराहरु लोपोन्मुख अवस्थामा पुगेको छन्। अहिलेका नयाँ पुस्तालाई ती कुरा थाहा नभएको परिवेशमा हामीले सङ्ग्रहालय निर्माण गरेका लागेका हौँ।’ अध्यक्ष पुनले भन्नुभयो ‘२०७५ सालमा पहिलो पटक मगर महोत्सवको आयोजना गरेको भए पनि कोरोनाको जोखिमको कारण पोहोर गर्न सकिएन। अहिले जोखिम कम हुँदै गएका कारण महोत्सव गर्ने भएका हौँ। प्रशासनबाट अनुमति लिएका छौँ।’

२०७५ सालमा लगाइएको महोत्सवबाट बचत भएको रकम सहित अहिलेको महोत्सवबाट बचत हुने पैसाबाट सङ्ग्रहालय सहित अन्य क्षेत्रमा पनि खर्च गर्ने क्लबले बताएको छ। जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने, उद्योग, व्यापार, तथा व्यवसायको प्रबद्र्धनमा सहयोग गर्ने, खेलकुद तथा संस्कृतिको विकासमा सहकार्य गर्ने, कृषि तथा शैक्षिक उन्नयनमा मद्दत गर्ने लगायतका लक्ष्य लिइएको पनि अध्यक्ष पुनको भनाइ छ।

महोत्सवका आकर्षणका रुपमा एक लाख ५१ हजार प्रथम पुरस्कार राखिएको खुला भलिबल प्रतियोगिता, मगर जातीको मुख्र्यौली नृत्य प्रतियोगिता, रत्यौली तथा भजन प्रतियोगिता, शैक्षिक प्रदर्शनी, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बञ्जीजम्प अवलोकन, गुफाहरुको अवलोकन सहित कलाकारहरुको प्रस्तुति राखिने भएको छ।

प्रतिक्रिया दिनुहोस्