तोकिएको मितिमा चुनाव गर्न नसके सरकार असक्षम हुन्छ: राष्ट्रपतिका सल्लाहकार यादव



न्युज अफ नेपाल,काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा। लालबाबु यादवले तोकिएको मितिमा निर्वाचन गर्न नसके वर्तमान सरकार असक्षम हुने दाबी गर्नु भएको छ । बुधबार दिउँसो रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले अदालतले निर्वाचनको पक्षमा फैसला गरेको खण्डमा सरकारले समयमै निर्वाचन गराउनुपर्ने बताउनु भयो ।

समयमै निर्वाचन गर्न नसके ओली नेतृत्व सरकारको असक्षमता पुष्टि हुने यादवको भनाइ छ । प्रतिनिधिसभा बिघटनसम्बन्धी प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले कानुनी मान्यता दिए समयमै निर्वाचन गराउनुपर्नेमा जोड दिनु भयो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामाथि बहस जारी रहेकोले अदालतले जस्तो फैसला गरेपनि सबैले सम्मान गर्नुपर्ने यादवको भनाइ छ ।अर्को एक प्रसंगमा वहाँले मुलुकमा तत्काल राष्ट्रपति शासन लागु हुने कुनै सम्भावना नभएको जिकिर गर्नु भयो ।

संकटपूर्ण अवस्थामा मुलुक धकेलिए संविधान र लोकतान्त्रिक व्यवस्था नै नटिक्ने सल्लाहकार यादवले दाबी गर्नु भएको छ । यादवले प्रधानमन्त्रीले चुनाव हुन सकेन भनेर ६ महिना वा एक वर्षको लागि संकटकाल सिफारिस गरेको खण्डमा राष्ट्रपतिलाई मुछ्नु नहुने तर्क गर्नु भयो । संकटकाल लगाउने वा नलगाउने भन्ने बिषय प्रधानमन्त्रीको अधिकार भएको यादवको तर्क रहेको छ ।संकटकाल भनेको अन्तिम अवस्थामा लागु हुने बिषय भएको सुनाउँदै उहाँले मुलुक संकटकालको अवस्थामा गए संविधान र प्रजातन्त्र नैं नटिक्ने दाबी गर्नु भयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको फैसलालाई पर्खनुको विकल्प छैन भनेर लिएको अडानको भने उहाँले स्वागत गर्नु भयो ।

सल्लाहकार यादवले राष्ट्रपति भण्डारीले संविधानअनुसार नंै आफ्नो अधिकारको उपयोग गरेको र संविधानभन्दा बाहिर गएर केही पनि काम नगरेको स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदले सिफारिश गरेकोले राष्ट्रपतिले प्रतिनिधिसभा विघटनलाई अनुमोदन गरेको पनि वहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्