करिब २५ सयको बिन्दुमा नेप्सेको छलाङ, पुँजीकरण साढे ३३ खर्ब



काठमाडौं, (नेस)

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले छलाङ मारेको छ । ६५ दशमलव ४९ अंकले वृद्धि हुँदै मंगलबार नेप्से २४७३ दशमलव ७३ मा पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ परिसूचकसमेत १४ दशमलव १० अंकले वृद्धि भई ४५१ दशमलव ३८ बिन्दुमा पुगेको छ ।

यस दिन २ सय वटा कम्पनीको एक करोड ५३ लाख कित्ता शेयर ८ अर्ब ५९ करोड ३४ लाख रुपियाँमा कारोबार भएको छ ।यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण ३३ खर्ब ३२ अर्ब ४१ लाख रुपियाँ बराबर पुगेको छ ।

मंगलबार कारोबार भएका १२ समूहमध्ये ११ समूहको परिसूचक उकालो लाग्दा होटल समूहमात्रै घटेको छ । यस दिन कारोबार भएका कम्पनीको शेयरमध्ये नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ५६ लाख रुपियाँबराबरको कारोबार भएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकको ५३ करोड ६३ लाख, नेपाल दूरसञ्चार कम्पनीको ३८ करोड ४३ लाख, शिखर इन्स्योरेन्सको ३४ करोड ७८ लाख, नेशनल लाइफ इन्स्योरेन्सको २६ करोड चार लाख, नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ८७ लाख, नेको इन्स्योरेन्सको २२ करोड २४ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै, जनउत्थान सामुदायिक लघुवित्त, सर्पोट माइक्रो फाइनान्स, गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स, रिलायान्स लाइफ, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र माउन्टेन इनर्जीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

समग्र परिसूचक बढेका दिन ओरियन्टल होटल, सोल्टी होटल, श्रीइन्भेस्टमेन्ट फाइनान्स, तारागाउँ रिजेन्सी होटल, सेञ्चुरी बैंक, नारायणी डेभलपमेन्ट बैंक, वेस्ट फाइनान्स र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्