व्यास नगरपालिकामा करको दायरा र दर पुनरावलोकन हुने



दमौली । तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं पुनरावलोकन गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्न आवश्यक गृहकार्य गरी यही माघ २३ गतेभित्र प्रतिवेदन पेश गर्न स्थानीय राजश्व परामर्श समितिलाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन प्रक्रिया २०७७ बमोजिम नगरपालिकामा धान प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि वडा नं ५ र ६ का जग्गा समेट्ने गरी एउटा क्लष्टर र वडा नं ७, ९ र १० का जग्गा समेट्ने गरी अर्को क्लष्टर गरी दुई क्लष्टर निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साथ वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गरिएको छ । बैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ ।

एक हजार २०५ ले लगाए खोप

कोभिडविरुद्धको खोप अभियान सोमबारबाट सकिएको छ । यही माघ १४ गतेदेखि शुरुआत अभियानका क्रममा एक हजार २०५ ले कोभिड खोप लगाएका छन् । जिल्लास्थित सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायतले कोभिड खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार खोप अभियानको अन्तिम दिन सोमबार ८६ ले खोप लगाएका छन् । यस अवधिमा व्यास नगरपालिकाका ३२७, म्याग्दे गाउँपालिकाका ५५, ऋषिङ गाउँपालिकाका ६५, शुक्लागण्डकी नगरपालिकाका १४२, भीमाद नगरपालिकाका १२३, घिरिङ गाउँपालिकाका ५७, भानु नगरपालिकाका १२८, बन्दीपुर गाउँपालिकाका ११६, आँबुखैरेनी गाउँपालिकाका ५८ र देवघाट गाउँपालिकाका १३४ जनाले खोप लगाएका छन् । खोप लगाएकालाई हालसम्म जटिल किसिमको लक्षण देखा नपरेको कार्यालयले जनाएको छ । कूल एक हजार ६७९ जनालाई खोप लगाउने लक्ष्य थियो ।

गण्डकीमा ८० प्रतिशत प्रगति

खोप अभियानअन्तर्गत गण्डकी प्रदेशमा लक्ष्यको ८०.४४ प्रतिशतले कोभिड खोप लगाएका छन् । कूल लक्ष्य १७ हजार ३९६ जना रहेकामा यस अवधिमा १३ हजार ९९४ ले खोप लगाएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा पाँच हजार २१९, गोरखामा एक हजार २०, नवलपुरमा ८३७, पर्वतमा ९९९, बागलुङमा एक हजार ८३, मनाङमा १५०, मुस्ताङमा १९६, म्याग्दीमा ५८६, लमजुङमा एक हजार २६८, स्याङ्जामा एक हजार ४७३ जनाले खोप लगाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्