साढे ७ हजार मतदाता र ४ मतदान केन्द्र थपिए



नेपाल समाचारपत्र, पर्वत ।

जिल्लामा पछिल्लो आम निर्वाचनको भन्दा साढे ७ हजार नयाँ मतदाता थपिएको छ भने चार केन्द्र थप्ने निर्णय भएको छ । सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने भनेपछि मतदाता र केन्द्र थप गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ वर्षको अवधिमा ७ हजार ५ सय २१ जना नयाँ मतदाता थपिएका हुन् । २०७४ सालको निर्वाचनमा ७४ वटा मतदानस्थलमा १ सय ३९ केन्द्र रहेका थिए ।

आगामी मध्यावधि निर्वाचनमा पर्वतमा कुल १ लाख १४ हजार ८ सय २१ जना मतदाताले मतदान गर्न पाउनेछन् । पछिल्लो निर्वाचनमा ७ हजार ५ सय २१ जना मतदाता थपिएको कार्यालयले जनाएको छ । जसमध्ये महिला ५९ हजार ६८ र पुरुष ५५ हजार ७ सय ५३ जना रहका छन् ।

कार्यालयले निर्वाचनको तयारीस्वरूप यही माघ १५ गतेदेखि २१ गते सम्म मतदाता नामावलीमा दाबी विरोधका लागि समय निर्धारण गरेको छ । जिल्लाका सातवटै स्थानीय तहका केन्द्रमा पुगेर मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन, बसाइँसराइ, मृत्यु वा अन्य कुनै कारण भए उजुरी दिन सकिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्