आहा रारामा ५० प्रतिशत दर्शक हुने



विजय नेपाली, पोखरा ।

सहारा क्लब पोखराले विगत केही वर्षदेखि निमार्णाधीन फुटबल मैदानमा आहा रारा गोल्ड कप फुटबल सञ्चालन गर्दै आइरहेको छ । २०७२ सालको भूकम्पले प्याराफिट जीर्ण भएदेखि सहारा क्लब पोखराले विभिन्न समस्या झेल्दै प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।

२०७४ सालमा पोखरा रंगशालामा रहेको प्याराफिट भत्काएपछि पनि सोही रंगशालामा अस्थायी प्याराफिट बनाउँदै प्रतियोगिता सम्पन्न गरियो । त्यसरी नै २०७५ सालमा पनि गरियो र गत वर्ष पनि निमार्णाधीन अवस्थामा रहेको नयाँ स्तरीय मैदानमा आधाभन्दा पनि कम दर्शक राखेर प्रतियोगिता गर्न बाध्य भएको थियो ।

पहिलो चरणमा १६ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट सहितको मैदान निमार्णको काम करिब–करिब अन्तिम चरणमा रहेको बताइए पनि सहारा क्लबले भने आधा दर्शक मात्र राख्न पाउने गरी प्रतियोगिता सञ्चालन गर्ने अधिकार पाएको छ ।

आगामी चैत्र १७ गते देखि २८ गतेसम्म हुने मोफसलकै लोकप्रिय तथा गण्डकी प्रदेशकै ठूलो नकआउट फुटबल प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ एन्फाले आधा संख्यामा दर्शक राखेर प्रतियोगिता संचालन गन दिने भएको छ ।
अहिले कोरोनाको महामारीका बीच प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।

१९औं संस्करणको प्रतियोगितामा कति टिम र पुरस्कार राशिमा वृद्धि गर्ने वा नगर्ने भन्ने विषय भने अन्योलमा परेको छ । ‘अहिले एक किसिमले मोफसलमा क्रिकेटलगायत अन्य प्रतियोगिताहरू भइरहेको समयमा हामीले पनि प्रतियोगिता सञ्चालन गर्न सक्छौं भनेर एन्फालाई निवेदन गरेका थियौं ।

त्यही निवेदन अनुसार नै एन्फाले हामीलाई मिति दिएको हो’ सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले भने ।आयोजक सहारा क्लब पोखराले शनिबार प्रतियोगिता आयोजनाबारे पत्रकार सम्मेलन गर्दै प्रतियोगिता हुने जानकारी दिएको थियो ।

सोही क्रममा बोल्दै अध्यक्ष थापाले प्रतियोगिता गर्न क्लब तयार रहेको बताएका थिए । ‘अहिले १२ टिम निर्धारण गरेर जाने तयारी गरेका छौं । अन्य सवालमा भोलिको समयले निर्धारण गर्छ ।

तत्कालको अवस्थामा विदेशी टिम ल्याउन कठिन छ’थापाका अनुसार एन्फा र खेलकुद परिषद्ले ५० प्रतिशत दर्शक राखेर प्रतियोगिता सञ्चालन गर्न निवेदन गरेको छ । ‘अहिले फुटबल मैदान पूर्णरूपमा बनिसकेको अवस्था छैन । हामीलाई जानकारी भएअनुसार एन्फा र राष्ट्रिय खेलकुद परिषद्का पत्राचार अनुसार ५० प्रतिशत मात्र दर्शक राख्न सक्ने भनिएको छ र सोहीअनुसार नै हामीले प्रतियोगिता सञ्चालन गर्नेछौं’ थापाले भने ।

प्रतियोगिताको पुरस्कार राशि र सहभागी टिमको भने टुंगो लागेको छैन् । प्रतियोगितामा आयोजक सहारा क्लब पोखरा सहित, विभागीय टिम ए डिभिजनका क्लब तथा मोफसलका क्लबको सहभागिता रहने क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ । सर्वोत्कृष्ट खेलाडीको प्रायोजन भने अप्रिला स्कुटरले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्