१० महिनापछि कार्यक्रम



गायकगायिकाहरु नवीन पौडेल, राजनराज शिवाकोटी र मिलन नेवारले राजधानीबासीलाई नचाएका छन्। राजधानीको टोखास्थित लड प्यालेस ब्याङ्केट शुभारम्भ कार्यक्रममा आयोजित विशेष संगीतिक कार्यक्रममा उनीहरुले गीत–संगीत प्रस्तुतिमार्फत दर्शक नचाएका हुन्।

करिब १० महिनापछि कलाकारको सांगीतिक प्रस्तुतिमा नाच्न पाउँदा दर्शक निकै खुसी थिए। लोकगायक नवीन पौडेलबाट शुरु भएको संगीतिक प्रस्तुति गायिका मिलन नेवार, राजनराज शिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो। कार्यक्रममा गायक पौडेलले लेउखुकुरी लेउ, बुलाकी लाउने, झुम्का लाउने बोलको गीतबाट दर्शकलाई नचाएका थिए।

करिब तीन घण्टा चलेको सांगीतिक कार्यक्रममा गायिका मिलन नेवारले जहिलेसम्म, सिरिमा सिरि हावालगायत करिब आधा दर्जन चर्चित गीत–संगीत प्रस्तुत गरेकी थिइन्। धेरै पछि दर्शकको अगाडि उभिएर कार्यक्रम गर्न पाउ“दा निकै खुसी लागेको मिलनले बताइन्।

कार्यक्रममा गायक तथा संगीतकार राजनराज शिवाकोटीले चेप्टे चेप्टे पेरुङ्गा, सुर्के थैली, कुटुमा कुटु, टाकन टुकुन टाक्क, गोजीमा दाम छैनलगायतका फिल्म तथा आधुनिक विधामा चलेका आधा दर्जन बढी गीत–संगीत पस्केका थिए। उनले कुटुमा कुटु गीत प्रस्तुत गर्दा दर्शक स्टेजमै चढेर समेत नाचेका थिए।

कलाकार सुवास खड्काले सञ्चालनमा ल्याएको लड प्यालेस ब्याङ्क्वेट टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले रिबन काटेर शुभारम्भ गरेका थिए। थुपै्र म्युजिक भिडियो तथा चलचित्रमा समेत अभिनय गरेका सुवासले व्यवसायमा पनि आफूलाई सक्रिय राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्