तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १७ र २७ गते हुने भनिएको चुनाव कुनै पनि हालतमा पर नसर्ने दाबी गर्नुभएको छ ।सोमबार  महोत्तरीको  ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जोड दिँदै भन्नुभयो , “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उहाँले भन्नुभयो, ।  “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उहाँले जोड दिँदै भन्नुभयो, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”

अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।” नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उहाँको भनाइ थियो ।

देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उहाँले भन्नुभयो, “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।”

नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो, “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।”

माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उहाँले भन्नुभयो, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।” अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उहाँले बताउनुभयो । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्