हलेसीमा ६० फिट अग्लो पद्मसम्भवको प्रतिमा !



रामधन राई, खोटाङ ।

खोटाङस्थित हिन्दु, बौद्द र किरातका साझा त्री–धार्मिकस्थल हलेसीमा ६० फिट अग्लो पद्मसम्भवको प्रतिमा राख्ने सम्झौता कार्य सम्पन्न भएको छ । धार्मिक पर्यटन प्रवद्र्दनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरु पद्मसम्भवको अग्लो प्रतिमा राख्ने सम्झौता भएको हो ।

नगरपालिकाले तयार पारेको हलेसी बृहत्तर गुरुयोजनामा परिकल्पना गरिएको पद्मसम्भव पार्कमा प्रतिमा राख्नका लागि नगरपालिकाका मेयर इवन राई र नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाबीचमा १९ बुँदे सम्झौता भएको हो । ध्वजापताका क्षेत्र, स्वागत द्वार, ध्यान केन्द्र, शान्ति पदयात्रा, विश्राम गृह, बगैंचा, मञ्जुश्री क्षेत्रभन्दा माथि डाँडामा गुम्बा, सरोवर निर्माण, पदमार्ग लगायतका संरचना निर्माण गरिने सम्झौतामा उल्लेख छ । पार्कमा बढिमा ५ वर्षभित्र पद्मसम्भवको मुर्ती राख्नेगरी सम्झौता गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो ।

हलेसी बृहत्तर गुरुयोजना अनुसार पद्मसम्भव पार्कमा करिब ५ करोडको खर्चमा पद्मसम्भवको प्रतिमा राख्ने काम पूरा गरिने नेपाल बौद्ध महासंघले जनाएको छ ।

पद्मसम्भवको प्रतिमा स्थापनाका लागि नगरपालिकाले स्थान उपलव्ध गराउने र ६ महिनाभित्र प्रतिमा राख्ने स्थानसम्म सडक र विद्युत व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ । यस्तै, हलेसी बृहत्तर गुरुयोजनाले तयार पारेको अवधारणा अनुसार सम्झौता भएको ३ महिनाभित्र पद्मसम्भव पार्कको डिपिआर तयार पारी दोश्रो पक्षलाई उपलव्ध गराउने, दोश्रो पक्षले डिपिआर अनुसार पद्मसम्भवको प्रतिमाको नक्सा तयार गरी स्थापना गर्नुपर्ने सम्झौता भएको छ ।

‘वौद्ध साहित्यमा आचार्य गुरु पद्मसम्भवले हलेसीमा अमरत्व प्राप्त गरेको उल्लेख छ । प्रतिमा स्थापनापछि दशौं लाख पर्यटकलाई हलेसीमा भित्र्याउन सकिने बौद्ध महासंघको अध्यक्ष शेर्पाको दावी छ । बौद्ध धर्मावलम्बीले पद्मसम्भवलाई दोश्रो बुद्धका रुपमा पुज्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्