सीताराम र कुञ्जना क्रिकेटमा भिड्दै



हास्य कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को अगुवाइमा धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सहयोगार्थ स्टार क्रिकेट २०२१ टुर्नामेन्ट आयोजना गरिने भएको छ।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गृष्मा ब्रोडकास्टिङको आयोजनामा सो रंगशाला निर्माणका लागि आर्थिक संकलन गर्न स्टार क्रिकेट–२०२१ गरिने लागेको जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा उपस्थित कलाकार र खेलाडीले क्रिकेटसमेत खेलेका थिए।

नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढीको सहभागीतामा हुने टुर्नामेन्ट दुई समूहमा बाँडिएको छ। दुई समूहलाई सीताराम र कुञ्जनाले नेतृत्व गर्ने छन्। दुई समूहका बीच हुने टुर्नामेन्टअन्तर्गत मैदानमा सीताराम र कुञ्जना बीच प्रतिस्पर्धा हुनेछ।

एक दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, सन्दीप क्षेत्री, बेनिशा हमाल, प्रशान्त ताम्राकार, दीपक विष्ट, संगीना वैद्य, शृंखला खतिवडा, प्रमोद खरेल, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने कार्यक्रममा जानकारी गराइयो। टुर्नामेन्ट माघ २४ गते चितवनको निर्माणाधीन रंगशालामै हुनेछ। टुर्नामेन्टबाट उठेको सम्पूर्ण रकम रंगशाला निर्माणका लागि प्रदान गरिने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्