माघ २३ मा ओली समूहको शक्ति प्रदर्शन

नारायणहिटीमा २ लाख कार्यकर्ता उतार्ने



काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टीले माघ २३ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले विरोध सभालाई तीव्रता दिएपछि ओली समूहले पनि काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

शक्ति प्रदर्शनमा झन्डै दुई लाख नागरिक सहभागिता हुने दाबी गरेको ओली समूहले सभा भने नारायणहिटी दरबार अगाडि गर्ने भएको छ । संसद् विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा दुईपटक शक्ति प्रदर्शनसहित विरोधसभा सम्पन्न गरेलगत्तै ओली समूहले पनि आफ्नो उपस्थिति देखाउनका लागि शक्ति प्रदर्शन गर्न लागेको हो ।

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश भन्ने नाराका साथ ओली समूहले जनसभा आयोजना गर्न लागेको छ । नेकपा ओली समूह बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जनसभाका लागि उपयुक्त ठाउँ खोज्ने क्रममा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गर्ने निर्णय गरिएको बताउनुभयो ।

उहाँले राजधानीका अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले नारायणहिटी अगाडिको सडकलाई रोजेको बताउनुभयो ।सभामा काठमाडौंसहित बागमती प्रदेशका १३ वटै जिल्लाका नेता तथा कार्यकर्ता र समर्थक सहभागी हुने बताइएको छ ।

सभालाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्ड–नेपाल समूहले रत्नपार्कमा गरेको जनसभापछि प्रधानमन्त्री ओलीले जनसभा कस्तो हुन्छ भनी माघ २३ गते काठमाडौंमा देखाउने घोषणा गर्नुभएको थियो ।

सभाका लागि नेकपा काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

अध्यक्ष पोखरेलका अनुसार सबै पालिकामा ३ सय १ र वडास्तरमा १ सय १ सदस्यीय, सम्पर्क समन्वयमञ्चको १ सय १ सदस्यीय र सबै जनवर्गीय संगठनको यही माघ १५ गतेभित्र ५ सय १ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले स्वयंसेवक परिचालन गर्ने तयारी अघि बढाइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्