नाभाल्नीको समर्थनमा हजारौं रुसी सडकमा



मस्को, (एजेन्सी)

कारगारमा थुनिएका रुसका विपक्षी तथा राजनीतिक नेता एलेक्सेई नाभाल्नीको समर्थनमा रसियाभरि हजारौं व्यक्तिले विरोध प्रदर्शन गरेका छन् । सो प्रर्दशन लगातार दोश्रो सातामा प्रवेश गरेको छ ।

आइतबार व्यापक गिरफतारीको बाबजुद पनि रसियाको सुदूर–पूर्वी भागदेखि साइबेरियासम्म पनि स्वतस्फूर्त रूपमा मानिसहरू सडकमा ओर्लेका छन् । राजधानी मस्कोमा भने विरोध -यालीहरूलाई नै मध्यनजर राख्दै कोरोना भाइरस नियन्त्रणको नाममा कडा सुरक्षा लकडाउन गरिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कट्टर आलोचकको रूपमा चिनिने नाभाल्नीलाई केही दिनअघि जर्मनीबाट मस्को आउनेबित्तिकै प्रहरीले पक्राउ गरेको थियो ।
उनले सरकार पक्षले नै आफूमाथि विष प्रयोग गरेको आरोप पनि लगाउँदै आएका थिए ।

संयुक्त राज्य अमेरिकालगायत थुप्रै युरोपेली मुलुकहरूले नाभाल्नीको तत्काल रिहाइका लागि रसियालाई दबाब दिएका थिए ।

माइनस २० डिग्री सेल्सियस तापक्रमको बेवास्ता गर्दै आइतबार रसियाको तेश्रो सबैभन्दा ठूलो शहर नोभोसिबिस्र्कमा ६ हजारभन्दा बढी रुसी जनताले सरकारविरुद्ध विचारोत्तेजक नारा लगाउँदै जुलुसमा भाग लिएका थिए । आइतबार बिहानसम्ममा मात्र रसियाभरि ५ सय जनाभन्दा बढीलाई गिरफतार गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्