बनेपा पोलिटेक्निकमा लफडा : निःशुल्क तालिमको रकम असुलेर पनि गुपचुप



न्युज अफ नेपाल, काभ्रे ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्द्धारा निशुल्क आयोजना गरिएको तालिममा बनेपा पोलिटेक्निक ईन्ष्टिच्युटले विना विल भरपाई प्रशिक्षार्थिहरु संग रकम असुलेको आरोप लागेको छ ।

आम सरोकारवालाहरुलाई जानकारी नै नदिई आयोजना गरिएको प्रशिक्षक प्रशिक्षण तालिममा जनहि १४ हजार भन्दा बढी रकम असुलेको आरोप लागेपछि प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् भक्तपुरका जिम्मेवार अधिकारीहरुले बनेपा आई पोलिटेक्निक ईन्ष्टिच्युटसंग सोधपुछ गरेको छ ।

माघ ७ गते देखि १६ गते सम्म १० दिन आयोजित तालिम निशुल्क भएको बारे कक्षा कोठामा प्रशिक्षकले बताएपछि प्रशिक्षार्थिहरुले आफुहरु संग रकम लिएको बताएपछि यो केस बाहिरिएको थियो ।

प्रशिक्षण लिन आउनेहरुले यो तालिम निशुल्क भन्ने आफुहरुलाई थाहा नभएको र विल भरपाई विनै पोलिटेक्निक ईन्ष्टिच्युटका कर्मचारीले १४ हजार भन्दा बढी लिएको बताएका थिए ।

घटना बाहिरिए संगै नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्युट कर्मचारी संघ एकाई समिति बनेपाले एक विज्ञप्ती जारी गरि घटनाको छानविन गर्न र दोषिलाई कार्वाहि गर्न माग गरेको छ । तालिम आयोजना गर्दा पनि रकम दिन मञ्जुर हुनेलाईमात्र सहभागि गराइएको बताइएको छ ।

तालिममा सहभागि एक प्रशिक्षार्थि भन्छन– यो तालिम निशुल्क भन्ने त तालिम लिदा शिक्षकले बताएपछि मात्र थाहा भयो । यस बारेमा पोलिटेक्निक ईन्ष्टिच्युटका शिक्षालय प्रमुख मिनराज अधिकारी भन्छन– यो घटना केहि होईन सबै मिलिसक्यो ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट आएको छानविन टोलिलाई प्रशिक्षार्थिहरुले रकम लेनदेन बारे केहि नभएको बताएको शिक्षालय प्रमुख अधिकारीको भनाई थियो ।

साथै उहाले तालिम आयोजना बारे कुनै सुचना जारी गरि आम जनतालाई जानकारी दिनुपर्ने अनिवार्य भनएकोले केहि बाहिरका र केहि पोलिटेक्निक ईन्ष्टिच्युट भित्रकालाई प्रशिक्षण दिईएको शिक्षालय प्रमुख अधिकारीले बताए । तालिममा २० जनाको कोटा भनिएपनि २३ जनालाई तालिम दिइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्