गुल्जार बने होटल, लोकसेवा परीक्षाले कोठा पाउनै समस्या



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडा–१०, टीसीएनरोडमा रहेको होटर सूर्यान्समा लकडाउनपछि पहिलोपटक होटलका कोठा पाहुनाले भरिए । होटल सञ्चालक निपु दासले ३० वटा कोठा रहेको होटलमा सबै कोठा भरिएको बताउनुभयो ।

‘अझै धेरै जना कोठा खोज्न आएका थिए । सबै प्याक भएका कारण फर्कायौं,’ उहाँले भन्नुभयो–कोरोनाका कारण यो वर्ष कहिल्यै यतिधेरै प्याक भएका थिएन । लोकसेवाको परीक्षाका कारण अघिल्लो परीक्षा र यस परीक्षा गरी दुईपटक होटलका सबै कोठा प्याक भएका छन् ।

उहाँका अनुसार कोठाको क्षमता भन्दा बढी मानिस एउटै कोठामा म्यानेज गरेर बस्न बाध्य भए । धेरैजसोले जसरी भए पनि कोठा मिलाइदिन आग्रह गरेका थिए । तर, सम्भव नभएपछि फर्काउन बाध्य भएको हो । असिस्टेन्ट सबइञ्जिनियरको परीक्षा दिन हेटौंडा आउने परीक्षार्थीका कारण हेटौंडा बजारका होटल तथा लजहरु भरिएका हुन् ।

दोलखाको सिंगटी घर भएका १९ वर्षीय नकुल बस्नेत लोकसेवा परीक्षामा सामेल हुन आइतबार हेटौंडा आउनुभयो । आइतबार दिउँसो करिब २ बजे हेटौंडा–१० मा रहेको बसपार्कमा आइपुग्नुभएका बस्नेतले राति बस्न हेटौंडाका दर्जनौं होटलको ढोकासम्म पुग्नुभयो ।

तर, कुनै होटलमा कोठा खाली नभएको जानकारी पाएपछि उहाँ धेरै समय बसपार्कतिरै अल्मल्लिनुभयो । एक त टाढाको यात्रा, अर्कोतिर विरानो शहर, चिनजानका मानिस नभएको ठाउँ । रात कहाँ र कसरी बिताउने भन्ने चिन्ताले बस्नेत धेरैबेर भैंतारिनुभयो ।

बस्नेतसँगै लोकसेवा परीक्षा दिन आउनुभएका साथी सुरेश खड्कासहित बस्न कुनै होटलमा कोठा नपाएपछि आफ्ना नाता पर्ने मानिस हेटौंडा भन्दा केही पर भए पनि अन्नतः बस्न उतै लाग्नुभयो ।

उहाँहरुजस्ता सयौं मानिस लोकसेवाको परीक्षा दिन आएको र बस्न होटलमा कोठा अभावका कारण अलपत्र भए । होटलका कोठा खाली नभएपछि कोही आफन्तको घरतिर लागे भने कोही आफन्त नभएकाहरु बस्न हेटौंडाबाट चितवन र मनहरीलगायत स्थानका होटलमा बस्न गएको हेटौंडाका होटल व्यबसायीले बताए ।

पुस २५ गते सञ्चालन भएको परीक्षामा देशभरका संख्या ८ हजार ३ सय ५७ परीक्षार्थीले परीक्षा दिएका थिए । त्यस समय पनि हेटौंडा बजारका होटलमा कोठा नपुगेपछि परीक्षार्थीहरु चितवनका होटलमा बास बस्न पुगेका थिए । हाल पनि बस्न कोठा अभावका कारण धेरै सास्ती खेप्नुपरेको परीक्षामा सहभागीले गुनासो गरेका छन् ।

असिस्टेन्ट सबइञ्जिनियरको परीक्षामा सहभागी परीक्षार्थीको संख्या ५ हजार ७ सय रहेको बागमती प्रदेश लोकसेवा आयोग अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनुभयो । परीक्षाका लागि हेटौंडाका करिब १८ भन्दा बढी परीक्षा केन्द्र तोकिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उहाँले भन्नुभयो–परीक्षाका लागि सबै जिल्लाका नागरिकलाई आवेदन खुला गरिएको तर कार्यक्षेत्र भने बागमती प्रदेशमात्र तोकिने नियम छ । संघीयता लागु भएर प्रदेश लोकसेवा गठनपछि पहिलो प्रदेशस्तरीय लोकसेवा परीक्षा लिइएको हो ।

चौथो र पाँचौं तहका कर्मचारी माग गरेर परीक्षासमेत सफलतापूर्वक सम्पन्न गरिसकेको बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले पहिलोपटक अधिकृतस्तरका कर्मचारी माग गरेको थियो । आयोगले छैटौं तहका अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।

लोकसेवा आयोगले प्रशासनतर्फ ५९ जना र बाँकी प्राविधिकतर्फका कर्मचारी माग गरेको थियो । माग गरिएका कर्मचारीमा लेखातर्फ ६ जना, शिक्षामा ६ जना, तथ्यांकमा १ जना, सिभिल इञ्जिनियरतर्फ १४ जना, बिल्डिङतर्फ इञ्जिनियर २ जना, वातावरण इञ्जिनियर १ जना, कृषिप्रसारमा २५ जना, कृषि बागवानीमा १ जना, कृषि बाली संरक्षणमा २ जना, पोल्ट्री डेरी डेभलपमेन्टमा ९ जना, मत्स्यमा १ जना, भेटेरिनरीमा १९ जना, कृषि एग्रीमा १ जना कर्मचारी छन् ।

प्रतिक्रिया दिनुहोस्