खडेरीले खेतीपाती बिग्रिएपछि किसान चिन्तित



????????????????????????????????????

राम धामी, डडेल्धुरा ।

झण्डै पाँच महिनादेखिको हिउँदे खडेरीका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिउँदे खेती प्रभावित हुन थालेको छ ।

लामो खडेरीका बीच अत्याधिक चिसोले तुसारो पर्नथालेपछि खेतीपाती बिग्रन थालेको किसानहरु बताउछन् । चिसो बढेसंगै पछिल्ला केहि दिन यता तुषारो पर्न थालेपछि हिउदे खेतीपाती पनि प्रभावित भएको छ । गतवर्ष छ पटक हिमपात भएको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा यसवर्ष लामो समयदेखि सामान्य झरी समेत नपरेकाले तुसारो बढेर खेतीपाती प्रभावित भएको हो ।

माघ महिना शुरु भएसंगै लगातार परिरहेको तुषारोका कारण बिहानको समयमा हातमुख धुन पनि नसकिने गरी चिसो बढेको छ । जातततै पानी जमेर सिसा जस्तो देखिने गरेको छ । बिहानीको समयमा बाटोमा तुषारो परेका कारण हिडडुल गर्न समस्या भईरहेको स्थानीय बताउँछन् ।

पछिल्ला केहिदिन यता सडक छेउछाउमा तुषारो देखिने गरेको छ । साँझ बिहान चिसोका कारण काम गर्न असहज भईरहेको स्थानीय गणेश पाठकले बताए । खुल्ला र सुख्खा ठाउँमा राती पर्ने सित र अत्याधिक चिसोका कारण जमेर बिहान हिउ जस्तै देखिने तुसारोका कारण खेतीपाती बिग्रिएको किसानहरु बताउछन । तुषारोले सडक बाटो समेत चिप्लो हुँदा सवारी दुर्घटनाको जोखिम बढेको यातायातकर्मीहरु बताउछन । प्रत्यक्ष रुपमा तुषारोले खेतीवालीमा नराम्रो असर पुगाउने गरेको किसानहरु बताउँछन ।

तुषारोले हिंउँदे वाली आलु, प्याज, रायो मूला, धनियाँ र गहुँ खेतीलाई पनि छोपेपछि वाली नफष्टाउने चिन्ता किसानलाई छ । उत्पादना ह्रास हुनुका साथै खानेपानीका मूल पनि जम्ने गरेको छन । हिंउँदमा पहाडी जिल्लाको तापक्रम घटदै गए पनि दिन भरि घाम लाग्ने र राती जुन लाग्ने पहाडमा बिहानपख तुषारोले टमक्क छापेको हुन्छ । जसले गर्दा सर्वसधारणको जनजीवन कष्टकर मात्र भएको छैन, हिउँदे झरी नहुँदा यसवर्ष खेतीपातीमा ठूलो प्रभाव देखिने भएको किसान बताउछन ।

गत भदौदेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका हुन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ ।

गत भदौको अन्तिम सातादेखि नै वर्षात हुनसकेको छैन । पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको डडेल्धुराको अमरगढी नगरपालिका–६ का सुरेश ताम्रकारले बताए । डडेल्धुरामा कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३८ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ । अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए । गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा ३० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उनले बताए । बर्खे खेती थन्क्याएसँगै यँहा गहुँ, आलु, तोरी, तरकारी लगायतका हिउँदे बाली लगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्