महिला लिगमा एपीएफको लगातार पाँचौं जित



नेपाल समाचारपत्र, काठमाडौं ।

विभागीय टिम नेपाल एपीएफ क्लबले जारी राष्ट्रिय महिला फुटबल लिगमा लगातार पाँचौ जित हात पारेको छ ।

शनिबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपीएफले वालिङ नगरपालिका स्याङ्जालाई ३–० ले हराएको हो । टिमलाई जित दिलाउन सावित्रा भण्डारीले २ गोल गरिन् भने एक गोल प्रिति राईले गरेकी हुन् । सावित्राले जारी लिगमा कुल १२ गोल गरिसकेकी छन् । उनले दुई ह्याट्रिक पनि गरेकी छन् । योसँगै एपीएफको १५ अंक भएको छ भने दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका मोरङ भन्दा ८ अंकले अग्रतामा रहेको छ । वालिङको ५ अंक रहेको छ ।

अर्को खेलमा विराटनगरले चैदण्डीगढी नगरपालिका उदयरपुुरलाई ६–० गोलअन्तरले हराएको छ । टिमको जितमा अनु राईले २ गोल गरिन् । इमा राई, मनीषा थापामगर, कुसुम खतिवडा र पार्वती घलेले एक–एक गोल गरेका थिए । विराटनगरले पहिलो हाफमै ४ गोल गरेर जित्ने पक्का गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्