आरोग्य केन्द्रमा बिरामीको चाप बढ्दो



????????????????????????????????????

राम धामी, डडेल्धुरा । 

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा स्थापना गरिएको नागरिक आरोग्य केन्दमा पछिल्लो दिनमा बिरामीहरुको चाप बढ्दै गएको छ ।

आयुर्वेदिक उपचार पद्धतीमा बिरामीको आर्कषण बढ्दै गएपछि ग्रामीण क्षेत्रका बिरामीको पनि आर्युवेदिक उपचारमा सहज पहुँच होस् भन्ने उदेश्यले सुदुरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोग र गन्यापधुरा गाउँपालिकाको समन्वयमा गन्यापधुरा गाउँपालिकामा स्थापना गरिएको आरोग्य केन्द्रमा बिरामीहरुको चाप बढ्दै गईरहेको हो ।

गन्यापधुरा गाउँपालिका सदरमुकाम बडालमा रहेको स्वास्थ्य चौकीको भवनमा स्थापना गरिएको नागरिक आरोग्य केन्द्रबाट परामर्शका साथै आवश्यक मात्रामा आयुर्वेदिक औषधिहरु पनि सर्वसधारणले सहजै पाउन थालेका छन् । आर्युवेदिक उपचारमा आर्कषण बढ्न थालसंगै बिभिन्न किसिमका बिरामीहरु आरोग्य केन्द्रमा उपचारका लागि आउने सर्वसधाहरणहरुको संख्या दिनहु बढ्दै गएको आरोग्य केन्द्रले जनाएको छ ।

दिनहु १५ देखि २० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको नागरिक आरोग्य केन्द्र गणेशपुर गन्यापधुराका आयुर्वेदिक अहेव विमल पनेरुले बताए । पहिले थोरै विरामी आउने गरेको भए पनि प्रचार प्रसार भएसंगै बिरामीहरुको चाप बढ्दै गईरहेको उनले जानकारी दिए ।

नागरिक आरोग्य केन्द्रमा सामान्य रोगका बिरामीहरुका साथै दिर्घ रोगी पनि उपचारका लागि आउने गरेका छन् । आर्युवेदिक उपचार प्रति मानिसको आर्कषण वढ्दै गएपछि उपचारका लागि जिल्ला सदरमुकामसम्म धाउनु पर्ने वाध्यता अन्त्य गर्ने उदेश्यले नागरिक आरोग्य केन्द्र स्थापना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलवहादुर मल्लले बताए ।

‘ग्रामीण क्षेत्रका विरामीले आयुर्वेद उपचार सहजै गाउँमा पाउन भन्ने उदेश्यले पहिलो चरणमा गाउँपालिका सदरमुकाम गणेशपुरमा स्थापना गरेका छौ,’उनले भने ‘अब विस्तारै गाउँपालिकाका वाँकी चारवटा वडामा पनि आरोग्य केन्द्र स्थापना गर्ने योजना रहेको छ ।’ गाउँमै सहज रुपमा आयुर्वेदिक उपचार गर्न पाउँदा विरामीहरु पनि खुसी भएका छन् । आयुर्वेदिक उपचारका लागि जिल्ला सदरमुकाम सम्म धाउनुपर्ने वाध्यताको अन्त्य भएको भन्दै ग्रामीण क्षेत्रका विरामीहरु खुसी भएको गन्यापधुरा गाँउपालिका–३ का वडाध्यक्ष चक्रबहादुर देउवाले बताए । उनले आर्युवेदिक उपचार पद्धतीलाई विस्तार गर्न हरेक बस्तीबाट माग आउन थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्