खडेरीले खेतीपाती बिग्रिएपछि किसानहरु चिन्तित



राम धामी, डडेल्धुरा । झण्डै पाँच महिनादेखिको हिउँदे खडेरीका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिउँदे खेती प्रभावित हुन थालेको छ ।लामो खडेरीका बीच अत्याधिक चिसोले तुसारो पर्नथालेपछि खेतीपाती बिग्रन थालेको किसानहरु बताउछन् । चिसो बढेसंगै पछिल्ला केहि दिन यता तुषारो पर्न थालेपछि हिउदे खेतीपाती पनि प्रभावित भएको छ ।

गतवर्ष छ पटक हिमपात भएको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा यसवर्ष लामो समयदेखि सामान्य झरी समेत नपरेकाले तुसारो बढेर खेतीपाती प्रभावित भएको हो ।माघ महिना शुरु भएसंगै लगातार परिरहेको तुषारोका कारण बिहानको समयमा हातमुख धुन पनि नसकिने गरी चिसो बढेको छ । जातततै पानी जमेर सिसा जस्तो देखिने गरेको छ । बिहानीको समयमा बाटोमा तुषारो परेका कारण हिडडुल गर्न समस्या भईरहेको स्थानीय बताउँछन् ।पछिल्ला केहिदिन यता सडक छेउछाउमा तुषारो देखिने गरेको छ । साँझ बिहान चिसोका कारण काम गर्न असहज भईरहेको स्थानीय गणेश पाठकले बताए ।

खुल्ला र सुख्खा ठाउँमा राती पर्ने सित र अत्याधिक चिसोका कारण जमेर बिहान हिउ जस्तै देखिने तुसारोका कारण खेतीपाती बिग्रिएको किसानहरु बताउछन । तुषारोले सडक बाटो समेत चिप्लो हुँदा सवारी दुर्घटनाको जोखिम बढेको यातायातकर्मीहरु बताउछन । प्रत्यक्ष रुपमा तुषारोले खेतीवालीमा नराम्रो असर पुगाउने गरेको किसानहरु बताउँछन ।तुषारोले हिंउँदे वाली आलु, प्याज, रायो मूला, धनियाँ र गहुँ खेतीलाई पनि छोपेपछि वाली नफष्टाउने चिन्ता किसानलाई छ । उत्पादना ह्रास हुनुका साथै खानेपानीका मूल पनि जम्ने गरेको छन । हिंउँदमा पहाडी जिल्लाको तापक्रम घटदै गए पनि दिन भरि घाम लाग्ने र राती जुन लाग्ने पहाडमा बिहानपख तुषारोले टमक्क छापेको हुन्छ । जसले गर्दा सर्वसधारणको जनजीवन कष्टकर मात्र भएको छैन, हिउँदे झरी नहुँदा यसवर्ष खेतीपातीमा ठूलो प्रभाव देखिने भएको किसान बताउछन ।
गत भदौदेखि वर्षा नभएपछि हिउँदे बाली लगाएका कृषक चिन्तित बनेका हुन् । आकाशे पानीको भरमा हिउँदे खेती गर्दै आएका कृषकको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनाली प्रभावित भएका छन् भने वर्षा नभएकै कारण आलु तथा अन्य तरकारी खेतीमा समेत डढेलो तथा विभिन्न प्रजातिका किराको प्रकोप देखिन थालेको छ । गत भदौको अन्तिम सातादेखि नै वर्षात हुनसकेको छैन । पानी नपरेपछि उर्बरा भूमि बाँझै छोड्नुपर्ने अवस्था आएको डडेल्धुराको अमरगढी नगरपालिका–६ का सुरेश ताम्रकारले बताए ।

डडेल्धुरामा कूल हिउँदे खेतीयोग्य जमिनमध्ये ३८ प्रतिशत मात्रै सिञ्चित क्षेत्र रहेको छ भने अन्य खेतीयोग्य जमिन आकाशे पानीकै भरमा रहेको छ । अहिले हिउँदमा वर्षा नहुँदा कृषक मर्कामा परेको जिल्ला कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले बताए । गत वर्षको तुलनामा यस वर्ष हिउँदे बाली उत्पादनमा ३० प्रतिशतभन्दा बढीले ह्रास आउने देखिएको उनले बताए । बर्खे खेती थन्क्याएसँगै यँहा गहुँ, आलु, तोरी, तरकारी लगायतका हिउँदे बाली लगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्