नागरिकलाई प्रहरीको संगीत थेरापी



हेटौंडा, (नेस)

कोरोना महामारीका कारण समाजको लय बिथोलिएको र लामो समयको लकडाउन खुला भए पनि नयाँ प्रजातिको भाइरसको खतरा जारी रहेका बेला विविध समस्याले तनावको अवस्था महसुस गर्ने आमनागरिकलाई बिहीबार प्रहरीले नचाएर संगीत थेरापी गराएको छ।

उक्त थेरापीमार्फत तनावमुक्त गराउने उद्देश्यले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, प्रदेश प्रहरी ब्यान्डले हेटौंडाको मुख्य बुद्धचोकमा संगीत थेरापी कार्यक्रम गरेको हो। कोरोना भाइरसबाट आक्रान्त समुदायलाई मनोरञ्जन दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

‘प्रहरी भन्नेबित्तिकै सेवामा खटिएको मात्र देख्ने हामीले यसरी नाचगान गरेको देख्दा अचम्म लागेको छ।’ –थेरापीकी सहभागी एक ५३ वर्षीया महिलाले भनिन्। उनीमात्र होइनन्, बजार वरिपरिका व्यापार/व्यवसाय गरेर बसेका मानिससमेत प्रहरीको नाच हेरेर खुसी भएको प्रत्यक्ष देखिन्थ्यो।

प्रदेश प्रहरी ब्यान्ड गुल्मद्वारा विभिन्न प्रकारका सांगीतिक धुनमार्फत तनाव व्यवस्थापनको प्रयास गरियो। स्वास्थ्य सुरक्षाप्रति पूर्ण सावधानी अपनाउ“दै आमनागरिकलाई उक्त थेरापीमा सहभागी हुन प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको थियो।

संगीतका माध्यमबाट उपचार गरिने यस प्रकारको चिकित्सकीय उपचार विधिबाट टाउको दुख्ने, रुघाखोकी लाग्ने, मानसिक रोग लाग्ने जस्ता समस्याबाट बच्न सकिने बताइएको छ।

संगीत चिकित्साका माध्यमबाट व्यक्तिको पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिका तथा मांशपेशीमा कम्पन उत्पन्न हुन्छ। संगीतको धुनले उत्पन्न हुने कम्पनका कारण शरीरका अंग लचिलो तथा चलायमान हुन्छन्। शारीरिक अंग सहजरूपमा चलायमान हुँदा रक्तप्रवाहमा सहजता हुन्छ।

मानिसहरु लामो समय घरभित्र गुम्सिए। यस्तोमा मानसिक शान्ति बिथोलिने जोखिम पनि उत्तिकै रहन्छ। त्यसैले शारीरिक तन्दुरुस्तीसँगै आत्मबल दह्रो बनाउने एक उपाय प्रदेश प्रहरीले अवलम्बन गरेको हो।

‘संगीत पनि आत्मबल बढाउने बलियो माध्यम हुनसक्छ।’ –कार्यक्रममा सहभागी प्रहरी भन्छन्। उनीहरुका अनुसार संगीतमा मनको गहिराइसम्म पुगेर भावनालाई तरंगित बनाउने शक्ति हुने भएकाले यसले मानसिक स्वास्थ्य तन्दुरुस्त राख्न पनि भूमिका खेल्छ।

प्रतिक्रिया दिनुहोस्