बर्ड फ्लुको संक्रमणबाट यसरी बच्नुस्



बर्ड फ्लु एभियन इन्फ्लुएन्जा भाइरसको छोटकरी रुप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लुएन्जा अर्थात् एचफाइभ एनवान हो । बर्ड फ्लु कुखुरा र पक्षीहरूको अति संक्रामक रोग हो । यो जति बेला जहाँ पनि फैलन सक्छ ।

बर्ड फ्लु कुखुरा, हाँस, टर्की र जंगली चराचुरुंगीमा लाग्ने सरुवा रोग हो । कहिलेकाहीँ सुँगुरमा पनि यो रोग भेटिएको छ । यो रोग मानिसमा पनि सर्न सक्छ । यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो ।

बर्ड फ्लुको संक्रमण भेटिएको विश्वको पछिल्लो ६६ औँ मुलुक हो नेपाल । थाइल्यान्ड, बंगलादेश र इन्डोनेसियामा यसले विकराल अवस्था निम्त्याएको छ । खोकीको संक्रमणजस्तै हो बर्ड फ्लु, जसले कुखुरा तथा पक्षीहरूमा विभिन्न समस्या निम्त्याउँछ । बर्ड फ्लुको भाइरस कुखुराको मासु, प्वाँख, सिँगान, ¥याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको सम्पर्कबाट सर्दछ ।

हावापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिन सक्ने भएकाले बर्ड फ्लुलाई प्राणघातक रोग पनि भनिन्छ । कुखुराको मासु ७० डिग्रीभन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा रोग लाग्दैन ।

कुखुरामा बर्ड फ्लुको संक्रमण थाहा पाउने पहिलो विधि हो ¥यापिड टेस्ट । यो टेस्टको सुविधा देशका पाँच विकास क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ । यसबाट ए समूहको भाइरस हो कि होइन पत्ता लगाएपछि अर्को टेस्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइन्छ, जहाँबाट एचफाइभ एनवान हो, होइन पत्ता लाग्छ ।

बर्ड फ्लुको विषयमा वैज्ञानिकहरूले समेत सबै कुरा पत्ता लगाइसकेका छैनन् । यसको संक्रमणबाट बच्ने टामी फ्लु भन्ने औषधि आएको छ, जुन प्रायः -यापिड रेस्पोन्स टोलीमा खटिनेहरूलाई दिइन्छ ।
पोल्टी फार्म वा घरमा पालिएका कुखुरामा -याल–सिँगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासितरूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकहरूलाई खबर गरिहाल्नुपर्दछ ।

मरेका कुखुरालाई नांगो हातले छुनुहुँदैन, खोरमा जाँदा माक्स र ग्लोबहरू लगाएर जानुपर्दछ र फर्केपछि राम्ररी साबुन–पानीले हात धुनुपर्दछ । भारतसँग जोडिएका २६ वटा तराईका जिल्लालाई सरकारले उच्च जोखिम क्षेत्रमा राखेको छ भने पहाडी जिल्लालाई मध्यम र हिमाली जिल्लालाई न्यून जोखिममा ।

कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने भएकाले यो मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण छ र तत्काल नियन्त्रण गरिएन भने महामारीको रुप लिनसक्छ । कृषिमा निर्भर नेपालको अर्थतन्त्रमा कुखुरापालनको असाध्यै मोह छ । बर्ड फ्लु फैलँदा झन्डै ३५ अर्ब रुपैयाँको लगानी र करिब ६५ हजार व्यक्तिलाई रोजगारी दिइरहेको कुखुरापालन व्यवसाय जोखिममा पर्न सक्छ ।

यो रोग कुखुरा फार्मका कामदारलाई बढी सर्न सक्ने सम्भावना हुन्छ । संक्रमित कुखुरा फार्म निरीक्षण गर्ने पशुचिकित्साकर्मी र पशुस्वास्थ्य प्राविधिक पनि उच्च जोखिममा पर्ने गरेका छन् । चिकित्सकहरूका अनुसार मानिसलाई अरु फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन् ।

चिकित्सकहरुका अनुसार कतिपय लक्षणहरू अचानक पनि देखिन सक्छन् । सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा देखिने चिकित्सकहरू बताउँछन् ।यो रोगबाट बच्नका निम्ति सावधानीहरु अपनाउन जरुरी छ ।

खाना खानुभन्दा अगाडि साबुन–पानीले राम्ररी हात धुने, घर–छिमेकमा कुखुरा तथा पक्षीहरु मरेको देख्नुभएमा तुरुन्तै सरकारी अधिकारी तथा सम्बन्धित स्थानीय निकायहरुमा खबर गर्ने र आफूले ती मरेका पक्षीलाई छुने, चलाउने काम नगर्ने । यदि नजिक जानुपरेमा माक्स लगाएर जाने ।

हाँस, टर्की तथा अन्य जंगली पक्षीहरुमा पनि यो भाइरस पाइने हुनाले आफू तथा आफ्ना बालबालिकालाई पनि त्यस्ता पंक्षीहरुको छेउछाउमा जान नदिने । कुखुराको मासु, अण्डा खानुपरेमा राम्ररी धोइपखाली गरी राम्ररी पकाएर मात्रै खाने । किनभने यो भाइरस ७० डिग्रीभन्दा माथिको तापक्रममा ३० मिनेटभन्दा बढी समय बाँच्न सक्दैन ।

– दीक्षा कट्टेल, काठमाडौं ।

के हो देवल ?

देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुंगाहरूबाट निर्माण गरिएका सामूहिक एकल र पाँचको संख्यामा रहेका अग्ला मन्दिर आकारका ऐतिहासिक सभ्यतालाई दर्शाउने अवशेष हुन् । यस्ता देवलहरू नुवाकोटदेखि पश्चिम र उत्तर भारतको कुमाउँ गढवालपूर्वको भूभागमा मात्र प्राप्त भएका छन् ।

देवलहरू सबैभन्दा बढी दैलेख जिल्लामा प्राप्त भएका छन् । यी देवलहरूले हिन्दु धर्म र बौद्ध धर्मलाई समानरूपमा ग्रहण गरेका छन् । देवलहरूको उपस्थितिले समग्रमा तत्कालीन कर्णाली प्रदेशको प्रभाव क्षेत्रलाई प्रतिनिधित्व गरिरहेको छ ।

तिथिमिति उल्लेख गरिएका देवलहरूको विश्लेषण गर्दा यस प्रकारका देवलहरू निर्माण गर्ने परम्परा सिंजा साम्राज्यको स्थापनासँगै विकास भएर उक्त शासनकालको अन्त्यसँगै समाप्त भएको देखिन्छ । त्यो त्यो अवधिपश्चात् निर्माण भएका देवलहरू आजसम्म कहीँ–कतै फेला परेका छैनन् ।

दैलेख क्षेत्र सिंजा साम्राज्यको केन्द्रविन्दु भएकोले नै सबैभन्दा बढी देवलहरूको संख्या फेला परेको हो । यस्ता देवलहरूको अस्तित्वले दैलेख जिल्लाको तात्कालिक समाजिक महत्वलाई दर्शाउँछन् । यी देवलहरूलाई महाभारतको कालमा पाण्डवहरूले बनाएका हुन् भन्ने जनविश्वास रहेको छ ।

सबै देवलहरू कडा प्रकारको कालो ढुंगाद्वारा शिखर शैलीमा समान प्रकारले निर्माण गरिएका छन् । देवल निर्माणमा प्रयोग भएका ढुंगाको बाहिरी भाग विभिन्न कलात्मक आकारमा कुँदिएका छन् भने भित्री भाग सामान्य सरसफाइसमेत नगरेर जथाभावी तरिकाले प्रयोग गरिएका छन् ।

प्रायः देवलहरू गारो अथवा कुनै पनि रसायनको प्रयोग नगरी केवल धातुको बलियो तार वा कैंचीले जोडेर बनाइएका छन् । देवलको शीर्षभागमा चक्राकार आमलक शिला राखिएका छन् । देवल प्रवेश द्वारको निदालमा कतै देवमूर्ति, कतै पुष्प आकृति गरिएको पाइन्छ । पुरातात्विक दृष्टिकोणले हेर्दा देवलहरू तत्कालीन मानव बस्तीभन्दा अलग एकान्त स्थल अथवा तत्कालीन मन्दिरको वरिपरि निर्माण गरिएका छन् ।
– नेपाल शर्मा, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्