किशोरी पढ्न आए बालविवाह भगाए



राजेश पाण्डेय, बुटवल ।

कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–८ मा रहेको चूडाकुमारी सामुदायिक आधारभूत विद्यालय कजरहवाले यस क्षेत्रमा बाल–विवाहविरुद्ध अप्रत्यक्षरुपमा सहयोगी भूमिका खेलेको छ ।
उक्त विद्यालयका प्रधानाध्यापक विष्णु पाण्डेका अनुसार पहिला अभिभावकहरुले छोरालाई मात्रै पढ्न पठाउँथे, छोरीलाई पठाउन आनाकानी गर्थे, छोरीहरुको आठ–नौ वर्षको उमेरमा नै बिहे गर्ने चलन थियो, तर पछिल्लो समय छोरीलाई पनि पढाउन थालिएपछि बालविवाह घटेको छ ।

छोरीहरुलाई नै पढ्न सजिलोका लागि अध्यापनमा महिला शिक्षकहरुलाई मात्रै नियुक्ति गरिएको पनि पाण्डेले जानकारी दिनुभयो । प्रधानाध्यापक पाण्डे भन्नुहुन्छ– ‘गाउँमा घरदैलो जाँदा, छोरीहरुलाई पनि शिक्षा दिनुपर्छ, सानो उमेरमा बिहे गर्नुहुँदैन भन्ने गरे पनि अभिभावकले उल्टै हामीलाई नै हप्काउने गरेर पठाउने गर्थे ।’ उहाँ पीडा सुनाउनुहुन्छ– ‘स्थानीय महिलाहरुले खाना नपाएका तिमीहरु, यहाँ विद्यालय खोलेर आफ्नो जीविकोपार्जन गर्न आएका हौ भनेर कति घरबाट लखेटिएका पनि थियांै ।’

छोरीलाई विद्यालय पठाउनु हुँदैन भन्ने मानसिकता बोकेका अभिभावक अहिले छोरीको पढाइ नबिग्रियोस् भन्ने पीर गरेको देख्दा मन हर्षित हुने गरेको बताउनुहुन्छ शिक्षिका सालिया खातुन । अभिभावकमध्येका एक अनुरुद्ध तेलीले विगतका कुरा यसरी कोट्याउनुभयो– ‘आफू सानो छँदा पढ्न नपाएको पीड़ा थियो, यहाँ नजिक विद्यालय नहुँदा छोरा–छोरी पनि पढ्न नपाउने हो कि भन्ने पीर लाग्थ्यो तर आफ्नै गाउँमा स्कुल खुलेपछि खुसी लागेको र आफूले पनि श्रमदान गरेको हो, अहिले मेरो दुई जना छोरीहरु दिनहुँ स्कुल आउने गरेको देख्दा आत्मसन्तुष्टि हुन्छ ।’

कुनै बेला महिला अभिभावकहरुको बिहे गरेर अर्कैको घर जाने छोरीलाई नपढाउने मानसिकता अहिले छोरीहरुलाई पढाउनैपर्छ भन्ने मान्यतामा विकसित हुनुलाई विद्यालयले ठूलो सफलताको रुपमा लिएको छ ।

महाराजगन्ज नगरपालिकाका शिक्षा प्रमुख रेश्मीराज अर्यालले कोरोना महामारीको समयमा विद्यालय सञ्चालनमा आउँदा जोखिम कायम रहेकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट जोगाउन र पठन–पाठन नियमित गराउन विद्यालयका सम्पूर्ण शिक्षकहरुले खाली समयमा आफैले कपड़ाको मास्क सिलाई, वितरण गरेर जिल्लामा नै उदाहरणीय काम गरेको बताउनुभयो ।

अहिले तीन÷चार वर्षको उमेरको बच्चालाई लक्षित गरी मन्टेश्रीमा आधारित शिक्षा दिने गरिएको बताउनुहुन्छ उक्त विद्यालयकी शिक्षिका पुनम कुमारी चौबे । अधिकांशले आफ्ना छोराछोरीलाई भेदभाव नगरी विद्यालयमा भर्ना गर्ने गरेका छन् तर अभिभावकको पेसा कृषि भएको हुँदा विद्यार्थी भर्ना भए तापनि घरायसी काममा बढी लगाउने हुँदा विद्यालय नियमित नआउने, आए पनि ढिला आउने गरेको गुनासो छ शिक्षिका सुनिता गिरीको ।

वडा नं. ८ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र केसीले आफू यो गाउँको शिक्षाप्रति सधैं चिन्तित रहेको बताउँदै आगामी केही वर्षमै कक्षा ९ देखि कृषि प्राविधिकको अध्यापन गराउने लक्ष्य लिएको बताउनुभयो । उहाँले त्यसअन्तर्गत नयाँ भवन निर्माण कार्य शुरु भइसकेको र छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सात कक्षासम्म अध्यापन हुने उक्त विद्यालयमा एउटै गाउँका २ सय २० विद्यार्थी अध्ययनरत छन्, जसमा छात्र १ सय ९ जना र छात्राको संख्या १ सय ११ रहेको छ । विद्यालयमा राहतका दुई जना, अस्थायी दरबन्दी, स्वयंसेवक, बाल–विकास र विद्यालय कोषबाट एक–एक जना गरी जम्मा ६ जना शिक्षक तथा कार्यालय सहयोगी एक जना कार्यरत छन् ।

तत्कालीन हरदौना गाविस अध्यक्ष तथा शिक्षापे्रमी महेन्द्र केसीले आफ्नी हजुरआमा चूडाकुमारी केसीको नाममा रहेको पाँच कट्ठा जग्गा दान दिएर गाउँमा विद्यालय स्थापनार्थ योगदान गर्नुभएको थियो । २०५९ सालदेखि सञ्चालित विद्यालयको तीनवटा भवन कोप संस्थाको आर्थिक अनुदान र स्थानीयको श्रमदानले निर्माण गरिएको होे ।

प्रतिक्रिया दिनुहोस्