धमाधम बन्दै संघीय संसद् भवन : १५ महिनामा २० प्रतिशत काम



मधुसूदन रायमाझी, काठमाडौं ।

राष्ट्रिय महत्वको आयोजना संघीय संसद् भवन निर्माणको कामले गति लिएको छ । लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम तीव्र गतिमा अगाडि बढेको हो । निर्माण शुरु भएको १५ महिनामा भवन निर्माणको २० प्रतिशत काम सम्पन्न भएको हो ।

शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजनाले तोकिएकै समयसीमाभित्र भवन निर्माण गर्न कार्यतालिका नै बनाएर काम अगाडि बढाएको छ । विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलीप श्रेष्ठले राष्ट्रिय महत्वको संघीय संसद् भवन निर्माणको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘लकडाउनको अवधिमा पनि काम रोकिएन, अहिले दैनिकरुपमा कामको अनुगमन गरिरहेका छौं, कार्यतालिका बनाएरै लक्ष्यअनुसारको काम गराउन हामी लागिपरेका छौं ।’

संसद् भवन निर्माणका लागि हाल निर्माण कम्पनी टुण्डी÷सेक ज्वाइन्ट भेन्चरले ४ सय ५० जना कामदारको प्रयोग गरेको छ । तर आयोजनाले लकडाउनको कारण केही प्रभावित हुन पुगेको कामलाई गति दिन कामदार थप्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो– ‘कामलाई समयसीमाभित्र नै सम्पन्न गर्न कामदारको संख्या चार सय पचासबाट बढाएर सात सयभन्दा बढी पु¥याउन निर्देशन दिएका छौं ।’

भवनको महत्वपूर्ण मानिएको फाउन्डेसन निर्माणको काम सम्पन्न भएको छ भने कतिपय भवनको अन्तिम ढलानसमेत भइसकेको छ । भवन निर्माणको क्रममा गुणस्तरीयता कायम गर्नका लागि तोकिएको कन्सल्टेन्सी साथै आयोजनाका इन्जिनियरहरुले नियमितरुपमा अनुगमन गर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवन अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको छ । संसद् भवन आधुनिक र प्रविधिमैत्री बन्नेछ । संसद् भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा फैलिएको छ । ५ अर्ब २ करोडमा निर्माण भइरहेको भवनमा संसदीय समिति, संसदीय दलको कार्यालय, संसद् सचिवालय एउटै भवनबाट सञ्चालन हुनेछ ।

संसद् भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरूको कार्यालय भवन, पुस्तकालय, संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन, चमेना गृह, प्रेस र छपाइ भवन र ७ सयवटा सवारीसाधन पार्किङ र सुरक्षाकर्मीको भवन रहनेछ ।

संसद् भवन परिसरभित्र हरियाली चौर, पानीको फोहोरा, सार्वजनिक खुला चौर रहनेछ भने आपत्कालीन विशेष अवस्थाहरू भूकम्प आगलागीलाई ध्यानमा राखेर इन्जिनियरिङ डिजाइन गरिएको छ । दक्षिण मुख्य प्रवेशद्वारको बायाँतर्फ संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्ने ठूलो हल हुने हुनेछ भने प्रवेशद्वारको दायाँतर्फ संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बेठक बस्ने हल हुनेछ ।

प्रतिनिधिसभाको भवनमा ४ सय सांसद, सभामुखको कार्यकक्ष, ३ सय जना दर्शक आगन्तुक पाहुना अट्ने गरी डिजाइन गरिएको छ । प्रतिनिधिसभाको हलमा ९ सय जना अटाउने क्षमता रहेको छ भने राष्ट्रिय सभाको हलमा भने ३ सय जना अटाउने गरी निर्माण हुन लागेको हो ।

यस आर्थिक वर्षमा ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य आयोजना राखेको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले राष्ट्रिय महत्वको संसद् भवन निर्माणको कामलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘लकडाउन नभएको अवस्थामा समयसीमाभित्र नै सम्पन्न हुनेमा कुनै शंका थिएन, हामीले अझै पनि तोकिएकै समयमा भवन निर्माण गर्न कार्यतालिका बनाएर नै काम गरिरहेका छौं ।’ विभागले भवनको गुणस्तरीयताबारे निर्माण सामग्रीको गुणस्तर परीक्षणदेखि लिएर अनियमित अनुगमनलाई निरन्तरता दिएको महानिर्देशक प्याकुरेलले भन्नुभयो ।

संघीय संसद् भवनको २०७६ असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । २०५५ सालबाटै संसद् भवन निर्माण गर्ने योजना अगाडि सारिए पनि १५ महिना अघि मात्र राष्ट्रिय महत्वको संसद् भवन बन्न शुरु भएको थियो । संसद् भवन निर्माण भएपछि भाडामा खर्च गर्नुपर्ने सरकारको अर्बौं रकम जोगिनेछ ।

आफ्नै भवन नहुँदा २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद् बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएको छ । संसद् सचिवालयले सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपियाँ भाडा बुझाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्