जिल्ला अदालत काभ्रेले शुरु गर्‍यो नागरिक मैत्री सेवा : ‘के म तपाईलाई सहयोग गर्न सक्छु ?’



मोतीराम तिमल्सिना, काभ्रे ।

‘के म तपाईलाई सहयोग गर्न सक्छु ?’ अहिले जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकमा पुग्ने वित्तिक्कै सेवाग्रहिहरुले यस्तो लेखिएको ज्याकेट लगाएका ५ जना कर्मचारीहरुलाई देख्नुहुन्छ । अध्ययन गर्न सक्नेहरुले ज्याकेटमा लेखिएको उक्त स्लोगन अध्ययन गर्नुहुन्छ र सेवाका लागि असहज भए वा सहयोग आवश्यक भए उहाँहरुसँग परामर्श लिनु हुन्छ । अदालत भित्र मुद्दाका नाममा नागरिकहरु ठगिनु नपरोस भन्ने उदेश्यले उक्त अभियान शुरु गरिएको श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले बताउनु भयो ।

नागरिकहरुको सेवा र सुविधाका लागि अदालतबाट प्रदान गर्ने हरेक सेवाहरु नागरिकहरुलाई सहज ढंगबाट पुर्‍याउने उदेश्यले अदालतले पत्रकारहरुसँग अन्र्तक्रिया आयोजना गरेको थियो । ‘नागरिकहरुलाई अधिकतम सेवा दिने प्रयास गरेका छौं’– श्रेस्तेदार घिमिरेले भन्नुभयो–‘कम जनशक्ति, पुर्वाधारको अभाव हुँदा हुँदै अदालतले प्रदान गर्ने सेवाबाट बञ्चित हुनु नपरोस र कोहि ब्यक्ति विचौलियाका कारण ठगिनु नपरोस भन्ने मुख्य अभिप्राय हो ।’ सामान्य लेखापढी, निवेदनहरु लेख्न तथा अन्य कामका लागि अदालतले निशुल्क सेवा दिदै आएको छ । निशुल्क सेवालाई पनि विचौलियाहरुले शुल्क लिएर सेवाग्रहि ठगिएका छन् । सेवाग्रहिलाई अदालतले दिने हरेक सेवालाई सहजिकरण गर्न उक्त स्लोगन सहितको ज्याकेट लगाएर कर्मचारीहरु गेट देखि भित्रसम्म बस्नेछन् । सेवाग्रहिका हरेक समस्या, गुनासा र जिज्ञासालाई कार्यालयको तर्फबाट सम्वन्धित कर्मचारी मार्फत सम्बोधन गर्ने गरी कर्मचारीको टोलीले सहयोग पुर्‍याउने श्रेस्तेदार घिमिरेले बताउनु भयो ।

अन्र्तक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश पुरुसोतम ढकालले अदालतले उपलब्ध गराएको सेवालाई अझै प्रभावकारी बनाउन पत्रकारहरुको तर्फबाट भूमिका खेलिदिन अनुरोध गर्नु भएको थियो । अदालतले गर्ने कारवाही र गुनासाहरु छन् भने सम्बोधनका लागि पनि सुझाव आए भने अदालतले सेवालाई अझै प्रभावकारी बनाउन सक्ने न्यायाधिश ढकालले बताउनु भयो । कोरोना भाईरसका कारण सेवालाई सहज बनाउन कठिन भएको भए पनि विस्तारै सहज बन्दै गएको र सेवाग्रहिरुले पनि समयमै सेवा प्राप्त गर्न थालेको उहाँले बताउनु भयो । २०७७ साउन १ गते देखि सर्वाेच्च अदालतले मुद्दाको बर्गिकरण गरी तीन प्रकारका मुद्दाहरु बनाए सँगै मुद्दा कहिले फैसला हुन्छ भन्ने कुरा सेवाग्रहिले थाहा पाउने भएकाले केहि सहज भएको उहाँले बताउनु भयो ।

न्यायाधिश सुर्यप्रसाल पराजुलीले सरल, सामान्य र विशेष प्रकारका मुद्दाहरुको बारेमा जानकारी गराउनु भएको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सरल प्रकारका ३ सय ५८ वटा मुद्द दर्ता भएकोमा १ सय ४१ वटा फैसला भई सकेका छन् । उक्त म्ुद्दाहरु दर्ता भएको ६ महिना भित्र फैसला गरिसक्नु पर्ने ब्यवस्था गरिएको छ । त्यस्तै सामान्य खालका मुद्दा १ सय ९९ वटा दर्ता भएकोमा १३ वटा फैसला भएका छन् । यस्ता मुद्दा एक वर्ष भित्र फैसला भईसक्नु पर्नेछ । त्यस्तै विशेष प्रकारका मुद्दा १३ वटा दर्ता भएकोमा फैसला भएका छैनन ।

त्यस्तो मुद्दा डेड वर्ष भित्र फैसला गरिसक्नु पर्नेछ । विशेष परिस्थिती सिर्जना नभएको अवस्थामा अब अदालतमा डेड वर्ष भित्र सबै प्रकारका मुद्दाहरुको फैसला भईसक्छ भन्ने सन्देश दिन खोजिएको छ । चालु वर्षको ६ महिना १५ दिनमा ९ सय ८२ वटा मुद्दा जिम्मेवारी सरि आएका, ६ सय २७ वटा मुद्दा नयाँ दर्ता भएका थिए । जसमध्ये ३ सय ७८ वटा मात्रै फैसला भएका छन् । अझै अदालतमा १ हजार २ सय ३१ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।

अन्र्तक्रिया कार्यक्रममा न्यायाधिश भिस्मराज प्रसाईले जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेका समग्र गतिविधिहरुका बारेमा जानकारी गराउँदै सेवा लिन आएको सेवाग्रहि सन्तुष्ट भएर कसरी फर्काउन सकिन्छ भन्ने उदेश्यले अदालतले हरतरहले काम गरिरहेको बताउनु भयो । अदालतमा फरक मुद्दा ब्यवस्थापन प्रणाली शुरु गरिएको, कोभिड १९ को महामारीबाट बच्दै र बचाउँदै सेवा प्रभाव गरिरहेको, बाल इजलास, निरन्तर सुनुवाई, थुनुवा मुद्दा, फैसला कार्यान्वयन, मेलमिलाप, निवेदन तर्फको लगत, फछ्र्याैट र बाँकीको विवरण, दण्ड जरिवनाको अवस्था, अभिलेख ब्यवस्थापन, म्याद तामेली लगायतका विषयमा भएका प्रगतिका बारेमा न्यायाधिश भिस्मराज प्रसाईले जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला न्यायाधिबक्ता चन्द्रकुमार पोखरेल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले अदालतका सेवा प्रवाहका बारेमा नागरिकहरुको गुनासोलाई सम्बोधन गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्