कतारमा नेपालीले लगाए खोप कोरोनाविरुद्ध निःशुल्क खोप



हेटौंडा, (नेस) । कतार सरकारले त्यहाँ रहेको सम्पूर्ण आप्रवासी नेपालीलाई सन् २०२१ अन्त्यसम्म कोरोनाविरुद्ध खोप निःशुल्क बितरण गर्ने जनाएको छ । नेपालीको एक प्रमुख गन्तव्य रहेको कतारका नेपालीले पनि प्राथमिकताका आधारमा खोप सुविधा पाउने छन् ।

कतारमा संक्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक छन् । कतार सरकारले खोप ल्याएसँगै कतारमा रहेका नेपालीले पनि चरणवद्धरुपमा खोप लगाउन पाउनेछन् । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपाली कार्यरत् छन् ।कतारको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै त्यहाँ बसोबास गर्ने सबैलाई चार चरणमा कोरोनाविरुद्ध खोप लगाइसक्ने जनाएको हो । कतारले पहिलो चरणमा डिसेम्बर २०२० देखि ३१ मार्च २०२१ सम्म कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाइ कर्मचारी, प्रमुख कर्मचारी, एम्बुलेन्स टिम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज, ७० वर्ष भन्दामाथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु, भाइरसबाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्क, ५० देखि ६९ उमेर समूहका मानिस, अन्य स्वास्थ्यकर्मी, आबश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारीलाई निःशुल्क खोप बितरण गरिने जनाएको छ ।

अप्रिल १ देखि जून ३०, २०२१ सम्म दोस्रो चरणमा पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मी, भाइरसबाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्याबश्यक कामदार, खाना, हाउसकिपिङ, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदार, बाँकी शिक्षा क्षेत्रका कर्मचारी, पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्ति, ४० वर्ष भन्दा माथिका व्यक्तिलाई खोप बितरण गरिने त्यहाँबाट हेटौंडाका सञ्चारकर्मी अनिल पराजुलीले बताउनुभएको हो ।
जून १ देखि जुलाई ३१ २०२१ सम्म तेस्रो चरणमा युवा तथा बालबालिका (बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि), पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरुलाई खोप बितरण गरिने छ ।

अगष्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म चौथो चरण पहिलो, दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिलाई खोप बितरण गरिने कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।कतारमा कोरोना खोप सुरु भएदेखि हालसम्म ५० हजारले खोप लगाएका छन् । खोप लगाउन ९० हजार भन्दा बढीले नाम दर्ता गराएको कतारबाट प्रकाशित क्युएन खबरले जनाएको छ । कतारमा कोरोना भाइरसविरुद्धे पहिलो खोप कतार युनिभर्सिटीका पूर्वनिर्देशक डा. अब्दुल्लाह अल कुबैसीलाई लगाइएको थियो । फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिनलाई कतार सरकारले प्रयोगमा ल्याएको थियो ।

गत सातादेखि संक्रमितको उल्लेखनीय वृद्धिले कतारमा भाइरसको दोस्रो लहर सुरु हुनसक्ने देखिएको त्यहा“को स्वास्थ्य मन्त्रालयले बताएको छ । कतारमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ५० हजार ६ सय २१ पुगेको छ । कोरोनाबाट कतारमा मृत्यु हुनेको संख्या २ सय ४८ पुगेको छ भने करिब १ लाख ४५ हजार ५ सय ५६ संक्रमणमुक्त भएका छन् । कतारले १३ लाख ७९ हजार ६ सय ६६ जनाको कोरोना जा“च गरिसकेको छ । आगामी १० दिनभित्र मोडर्ना कम्पनीको खोप पनि कतार पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्