हेटौंडामा कांग्रेसको ‘गरिखाने’ अभियान



न्युज अफ नेपाल, हेटौंडा ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् एवम् पार्टीको ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवम् दीगो परियोजना’ संयोजक सफल उद्योगी बिनोद चौधरीले नेपाली कांग्रेस आमसर्वसाधारणलाई गरिखाने बनाउन लागिपरेको दाबी गर्नुभएको छ ।

कर्मभूमि समाजले हेटौंडामा गरेको ‘नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगार’ विषयक अभिमुखीकरणमा उहाँले आमजनतालाई गरिखाने अबस्था निर्माणमा कांग्रेस लागिपरेको दाबी गर्नुभएको हो ।

चौधरीले देशमा राजनीतिक भाषण गर्नेहरु भन्दा गरिखानेहरुको बाहुल्यता आबश्यक रहेको भन्दै यसका लागि नेपाली कांग्रेसले ‘गरिखाने’ अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । पछिल्लो समय युवाहरुमा नैराश्यता बढिरहेको भन्दै उहाँले उनीहरुलाई उद्यममा जोड्नु आबश्यक रहेको औंल्याउनुभयो ।

पार्टी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले बैकिङ कारोबारमा कांग्रेसले साथ र सहयोग गर्ने बताउनुभयो । गरिखाने अभियानमा जनतालाई साना उद्योग सञ्चालन गर्न, खाता खोल्न र उद्योग सञ्चालन गरेर व्यबसाय गर्नेहरुलाई आबश्यक परे सहयोग गरिने उहाँको भनाइ छ ।

कार्यक्रममा कांग्रेस पूर्वसांसद् उमेश श्रेष्ठ र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिया“ले जनतालाई उद्यमशीलतामा जोड्नु आबश्यक रहेको भन्दै जनतालाई आत्मनिर्भर बनाउन अभियान सार्थक हुने बताउनुभयो ।

कार्यक्रममा गरिखाने अभियानका प्रमुख कार्यकारी अधिकृत राजु नेपालले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा उद्यमका लागि संस्था दर्ता गरेका युवा तथा कांग्रेस नेता/कार्यकर्ताको उपस्थिति थियो ।

नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगारः दृष्टिकोण एवम् दीगो परियोजना’ नामक विशेष समिति गठन गरेको हो । बैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आबश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेबमोजिम सभापति शेरबहादुर देउवाले विशेष समिति गठन गर्नुभएको थियो ।

समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दुरगामीरुपमा सम्बोधन गर्न सकिने नीतिबारे आबश्यक अध्ययनपश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ लाई सुझाव दिनेछ । पूर्वअर्थमन्त्री रामशरण महतको संयोजकत्वमा पार्टीको ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्