बलिउडका रिल र रियल जोडी



बलिउड फिल्म नगरीका लागि ९० को दशक निकै फलदायी मानिन्छ। उक्त समयमा धेरै राम्रा फिल्म बने भने धेरै राम्रा कलाकार जन्मिएका थिए। उक्त समयको सुपरहिट फिल्म र जोडीहरुलाई अहिले पनि दर्शकहरु उत्तिकै स्मरणमा छन्।

उक्त समयका केही जोडीले वास्तविक जीवनमा पनि जोडी बाँधे भने केही भने दर्शकले चाहेर पनि जोडी बन्न सकेनन्। उनीहरुको पे्रमकहानी उक्त समय चर्चाको विषय बन्न पुगेका थियो। यहाँ सुटिङको दौरान प्रेममा परेका तर विवाह हुन नसकेका केही फिल्मी जोडीबारे चर्चा गरिएको छ :

अक्षय कुमार र शिल्पा शेट्ठी

एक जमाना यस्तो पनि थियो, जुन बेला अभिनेता अक्ष्ँय कुमारसँग हरेक अभिनेत्रीको नाम जोडिन्थ्यो। भनिन्थ्यो कि अक्षय आफूले काम गरेका हरेक अभिनेत्रीलाई प्रेम प्रस्ताव राख्ने गर्थे।

फिल्म मे खेलाडी तु अनाडीको सुटिङका क्रममा अक्ष्ँय र शिल्पा प्रेममा परे। तर, उनीहरुको फिल्ममा हिट जोडीको प्रेम वास्तविक जीवनमा भने धेरै समय टिक्न सकेन। पछि अक्षयले ट्विङ्कल खन्नाका साथ विवाह गरे भने शिल्पाले राज कुन्द्राका साथ विवाह गरिन्।

सलमान खान र ऐश्वर्या राय

दर्शकले निकै रुचाएको रिल जोडी सलमान खान र ऐश्वर्या रायको वास्तविक प्रेम कहानी पनि कुनै फिल्मको भन्दा कम छैन। उनीहरुको प्रेम कहानी आज पनि उत्तिकै सम्झने गरिन्छ। सन् १९९८ मा फिल्म फिल्म हम दिल दे चुके सनमको सुटिङका क्रममा उनीहरुले एक–अर्कालाई दिल दिएका थिए।

त्यसपछि उनीहरुले ढाई अक्षर प्रेमकी, हम तुम्हारे हे सनमजस्ता रोमान्टिक फिल्महरुमा काम गरे। उनीहरुले आफुहरुको प्रेम सम्बन्धलाई स्वीकारेका पनि थिए। तर, दुर्भाग्यवश उनीहरुको प्रेम कहानी शुरु भएको २ वर्षमै अन्त्य भयो। त्यसपछि उनीहरुले अन्तर्वार्तामा एक–अर्कासँग जोडिएका कुराहरुलाई अस्वीकार गर्न थालेका थिए।

त्यति बेला ऐश्वर्याले सलमानले आफूलाई कुटपिट गरेको आरोपले बलिउड जगत् तातेको थियो। ऐश्वर्याले एक प्रेस विज्ञप्ति जारी गर्दै सलमानका साथ आफू कहिल्यै काम नगर्ने निर्णय बाहिर ल्याएकी थिइन्। पछि ऐश्वर्याले अभिनेता अभिषेक बच्चनका साथ विवाह गरिन् भने उनको अहिले एक छोरी छिन्। सलमान भने अहिलेसम्म अविवाहित नै छन्। भनिन्छ ऐश्वर्याकै कारणले सलमानले विवाह नगरेका हुन्।

अजय देवगण र करिश्मा कपुर

एक समय अजय देवगण र रविना टण्डनको प्रेमले ठूलो चर्चा बटुलेको थियो। त्यही बेला अजयले जिगर फिल्ममा काम गर्ने अवसर पाए।

जसमा उनको अपोजिटमा अभिनेत्री करिश्मा कपुर थिइन्। सुटिङको क्रममा उनीहरु प्रेममा परे। तर, यो प्रेम कहानी पनि अपुरो नै बन्न पुग्यो।

माधुरी दीक्षित र सञ्जय दत्त

सन् ९० को दशकको अर्को हिट जोडी हुन माधुरी दीक्ष्ँित र सञ्जय दत्त। थानेदार, साजन तथा खलनायक गरी उनीहरुको लगातार तीन फिल्म हिट भए। उनीहरुको केमिस्ट्री देखेर मानिसहरु पागल हुन्थे। फिल्ममा काम गर्दागर्दै माधुरी र सञ्जय वास्तविक जीवनमा एक–अर्कालाई प्रेम गर्न थालेका थिए।

तर, सञ्जय पहिले नै विवाहित थिए र उनको एक छोरा पनि थिए। लामो समयसम्म चलेको उनीहरुको प्रेमले सन् १९९३ मा भएको मुम्बई बम ब्लास्टको घटनापछि नयाँ मोड लियो। यस मामलामा सञ्जय दोषी देखिएपछि माधुरीले सञ्जयसँग दूरी बनाइन्।

साजिद नाडियाडवाला र तब्बु

चर्चित फिल्म निर्देशक साजिद नाडियाडवाला र तब्बुको प्रेम कहानी पनि ९० को दशकमा खुब चर्चामा रह्यो। फिल्म जितको सुटिङको क्रममा उनीहरु नजिकिएका थिए। भनिन्छ पत्नी दिव्या भारतीको मृत्युपछि शोकमा रहेका साजिदलाई शोकबाट बाहिर निस्किनका लागि तब्बुले मद्दत गरेकी थिइन्।

तर, तब्बुको जीवनमा साउथ सु्परस्टार नार्गाजुनको प्रवेशपछि उनीहरुको प्रेममा फाटो आएको थियो। नागार्जुन पहिले नै विवाहित थिए। तब्बु भने ५० वर्षको उमेरसम्म अविवाहित छिन्।

प्रतिक्रिया दिनुहोस्