पोल्यान्डमा गर्भपतन प्रतिबन्धविरुद्ध विशाल प्रदर्शन



वार्सा, (एजेन्सी)

पोल्यान्डमा निकै विवादास्पद गर्भपतनमाथिको झन्डै पूर्णरूपमा प्रतिबन्ध लागू गरिएको सरकारले घोषणा गरेको छ । यो कानुन बुधबार मध्यरातिदेखि लागू भएको छ । गत अक्टोबरमा अदालतले यस कानुनलाई लागू गर्ने सहमतिसहित निर्णय गर्दा मुलुकभरि त्यसको विरोधमा विशाल प्रदर्शन भएको थियो ।

अबदेखि बलात्कार वा अनैतिक सम्बन्धको कारण रहन पुगेको गर्भपतनका लागि मात्र कानुनी छुट हुने भएको छ । यसैगरी, गर्भवती महिलाको ज्यानै खतरामा पर्ने स्थितिमा पनि गर्भपतन गर्न दिइने भएको छ । अधिकांश पोलिस जनता गर्भपतनमाथिको कडा बन्देजको विरोधी रहेका छन् । बुधबार साँझ पनि यस प्रतिबन्धका विरुद्ध विशाल प्रदर्शनको आयोजना भएको थियो । अभियन्ताहरूले बिहीबार र शुक्रबार राजधानी वार्सा केन्द्रित विशाल सडक प्रदर्शनको आह्वान गरेका छन् ।

गत अक्टोबरमा पोल्यान्डको संवैधानिक अदालतले १९९३ को विभिन्न अवस्थामा गर्भपतन गर्न पाउने कानुन असंवैधानिक भएको ठहर गरेको थियो । गर्भाशयमा शिशुको स्वास्थ्य तथा बसाइ अवस्था ठीक नभएमा गर्भपतन गर्न पाइने प्रावधान सो कानुनमा उल्लेखित थियो । सन् २०१९ मा ९८ प्रतिशत गर्भपतन सोही आधारमा गरिएको थियो ।

यसबाट पनि अदालतको सो निर्णयले पनि अधिकांश गर्भपतन कार्य रोकेको प्रमाणित हुन्छ । अदालतको सो निर्णयका कारण नै गर्भपतन अधिकारका हिमायतीहरू आक्रोशित भएका हुन् ।तर, पोल्यान्डको शक्तिशाली क्याथोलिक चर्चसँग आबद्ध कन्जरभेटिभ सरकारले भने खुलेरै अदालती निर्णयको स्वागत र समर्थन गरेको छ ।

अदालतले भने जन्मिनसकेका शिशु पनि मानव नै भएकाले उनको प्राणरक्षा गर्नु जीवन बाँच्ने सुनिश्चित गर्ने पोल्यान्डको संविधानअनुरूप रहेको दाबी गरेको छ । प्रदर्शनकारीहरूले समलिंगी तथा तेश्रोलिंगीहरूको झन्डा फहराउँदै बच्चा जन्माउने निर्णयलाई स्वतन्त्र छाडिनुपर्ने र यस विषयलाई लिएर आतंक फैलाउन नहुने नारा लगाएका थिए । गर्भपतन विश्वका अधिकांश मुलुकमा विवादको विषय बन्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्