ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक : नेपालमा भ्रष्टाचार झन् मौलायो



मधुसूदन रायमाझी, काठमाडौं ।

सरकारले सुशासन कायम भएको बताइरहँदा ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा झन् भ्रष्टाचार बढेको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष १ सय १३औं स्थानमा रहेको नेपाल यस वर्ष १ सय १७औं स्थानमा पुगेको छ । १ सय ८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणाका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा ११७औं स्थानमा पुगेको हो । ट्रान्सपरेन्सी इन्टरनेसनलले यस वर्ष नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको उल्लेख गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले बिहीबार संसारभर एकसाथ भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गरेको छ । सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्ष नेपालले १०० अंकमा ३३ अंक मात्र प्राप्त गरेको जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ ।

गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउँदा अरु ४ मुलुकले उछिनेर नेपाल ११७औं स्थानमा पुगेको हो । ट्रान्सपरेन्सी इन्टरनेसन नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले वल्र्ड जस्टिस प्रोजेक्ट नामक संस्थाले गर्ने सर्वेक्षणमा नेपालको स्कोर कम आएको बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकांकअनुसार न्युजिल्यान्ड ८८ अंकसहित सुशासनकायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल हुनुको साथै डेनमार्क पनि ८८ अंकसहित सीपीआईको ¥याकिङमा पहिलो स्थानमै रहेको छ ।

दक्षिण एसियाली मुलुक भारत भने ४० अंकसहित ८६औं स्थानमा रहेको छ । दक्षिण एसियाकै अर्को मुलुक भुटान भने ६८ अंकसहित २४औं स्थानमा रहन सफल भएको छ । त्यस्तै मालदिभ्स ४३ अंकसहित ७३औं, ३८ अंकसहित श्रीलंका ९४औं, २६ अंकसहित बंगलादेश १४६औं र १९ अंकसहित अफगानिस्तान १६५औं स्थानमा रहेको छ । त्यसै गरी छिमेकी मुलुक चीन ४२ अंक प्राप्त गरी ७८औं स्थानमा छ ।

‘सीपीआई २०२० मा नेपालका लागि समाविष्ट विभिन्न ६ संस्थाका सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग रहनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घूसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको सन्देश दिएको छ।’ –ट्रान्सपरेन्सीले भनेको छ ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकांकसहितको रिपोर्ट तयार पारिएको प्रधानले जानकारी दिनुभो । रिपोर्टमा भ्रष्टाचारका कारण कोभिड–१९ महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको उल्लेख गरिएको छ । सन् १९९५ देखि प्रत्येक वर्ष यस्तो सूचकांक सार्वजनिक गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनले नेपाललाई सन् २००४ देखि समावेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्