नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा



भूपराज बस्याल, काठमाडौं ।

कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिनुभयो ।

हाल दुई सिफ्ट गरेर ३ सय ५० जना कर्मचारीले काम गरिरहेको उहाँले बताउनुभयो । ‘हाल सुरुङ खान्ने काम थालिएको र करिब ३० मिटर प्वाल पारेपछि मात्र विस्फोटक पदार्थ प्रयोग हुनेछ।’ –उहाँको भनाइ छ । जापान सरकारको १६ अर्ब सहुलियत ऋण र नेपाल सरकारको ५ दशमलव ८ अर्ब लागतमा बन्न लागेको सुरुङ मार्गको जम्मा लम्बाइ सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर हुनेछ भने त्यसमा सुरुङको लम्बाइ २ दशमलव ६८८ किलोमिटर रहनेछ ।

जापानी निर्माण कम्पनी हाज्मा आन्दोलाई ४२ महिनाभित्र निर्माण सक्ने गरी सुरुङ निर्माण जिम्मा दिइएको थियो । सुरुङमार्ग निर्माणबारे ६ असोज २०७६ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ कात्तिक २०७६ मा आयोजनाको उद्घाटन गर्नुभएको थियो । सम्झौताअनुसार ३० चैत २०७९ आयोजनाको काम सक्नुपर्ने हुन्छ । सम्झौता गरिएको समयमै सक्ने गरी काम तीव्र गतिमा भइरहेको पनि शाक्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

मुख्य सुरुङ मार्ग र सहायक सुरुङ मार्ग गरी दुई मार्ग हुनेछन् । मुख्य सुरुङ मार्गबाट यातायात आवतजावत हुनेछन् भने सहायकमार्ग आपत्कालीन समयमा मात्रै प्रयोग गरिनेछ । आपत्कालीन उद्धारका लागि बनाइएको सहायक मार्ग र मुख्य सुरुङमार्ग बीचबीचमा जोडिनेछ । सुरुङमार्ग गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको फ्लाई ओभरमा बन्नेछ । यो उत्तरतर्फ मोडिएर साढे २ किलोमिटर सडक बन्ने र टनेलको मुखमा पुग्नेछ । सिस्नेखोलामा सुरुङबाट निस्किएपछि ५ सय मिटर नयाँ सडक बन्नेछ, जुन त्रिभुवन राजपथसँग जोडिनेछ ।

सुरुङ मार्ग निर्माणका लागि अत्याधुनिक औजार र कङ्क्रिटमा प्रयोग हुने केमिकलबाहेक लगभग सबै नेपाली उत्पादनका समान प्रयोग भइरहेको समेत शाक्यले जानकारी दिनुभयो । यसअघिका राष्ट्रिय गौरवका योजनाका सिमेन्ट छडसमेत विदेशबाट आयात गर्नुपथ्र्यो तर अहिले ती सामानहरु नेपाली उत्पादन नै प्रयोग भइरहेको उहाँले बताउनुभयो । योजना सम्झौताको समयमै सकिने गरी तीव्र गतिमा काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्